नेपालगन्ज– नेपालगन्ज-दिल्ली हवाई उडान सञ्चालनका लागि पहल सुरु भएको छ। नेपालगन्ज उपमहानगरपालिकाले साेमबार आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बुद्ध एयर नेपालगन्ज–दिल्ली हवाई उडान सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए।
सरकारी निकायबाट अनुमतिका पाए लगत्तै बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडान सुरु गर्ने उनले प्रष्ट पारे।
बुद्ध एयरसँग काठमाडौं–वनारस उडान भरेको अनुभव रहेको बताउँदै प्रबन्ध निर्देशक बस्नेतले नेपालगन्ज–दिल्ली उडानका लागि एयरलाइन्स कम्पनीले गर्नुपर्ने सबै प्रक्रियाहरु पुरा गरी सकेको दावीसमेत गरे।
नेपालगन्ज–दिल्ली उडानका लागि भारत सरकारसमेत सकारात्मक भएकाले नेपालगन्ज विमानस्थलमा अध्यागमन र भन्सार कार्यालयको युनिट स्थापना गर्नुका साथै अन्तर्राष्ट्रिय उडानका लागि प्यासेन्जर टर्मिनल निर्माण गर्नुपर्ने उनको सुझाव थियो।
उडान अनुमति पाएलगत्तै बुद्ध एयरले ‘एटीआर ७२’ बाट उडान सुरु गर्ने बताउँदै प्रबन्ध निर्देशक बस्नेतले एक बर्षमा एकतर्फी उडानबाट मात्रै करिब ७० हजार यात्रुहरुले नेपालगन्ज–दिल्ली उडान भर्नसक्ने दावी गरे।
नेपालगन्ज–दिल्ली उडानको लागि ‘लिमा ६२६’ बाटै जाने–आउने गरी रुट मिलाउनतर्फ सरकारले ध्यान दिनुपर्ने प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ।
सर्वदलीय बैठकमा बोल्दै बर्दिया क्षेत्र नम्बर १ का सांसद एवम् पुर्व मन्त्री संजय गौतमले नेपालगन्ज मात्रै नभएर पश्चिम नेपालको पर्यटन विकासका लागि नेपालगन्ज–दिल्ली उडान सेवाले महत्वपूर्ण योगदान पुराउन सक्ने बताए।
सांसद गौतमले नेपालगन्ज विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नती गरेर छिमेकी मुलुकमा उडान सुरु गर्नका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले नेपालगन्ज विमान स्थलमा हाल भईरहेको पुर्वाधारबाटै नेपालगन्ज–दिल्ली उडानको सबै सेवा सञ्चालन गर्न सम्भव भएको दावी गरे। उनले उडान सञ्चालन गर्नका लागि बुद्ध एयर तयार भएको र भारत सरकार पनि उडान रुटको अनुमति दिन सकारात्मक भएकाले उडान सुरु गर्नका आवश्यक पहल सुरु गरिएको प्रष्ट पारे।
नेपालगन्ज–दिल्ली हवाई उडान सुरु हुन सके नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास हुने सम्भावना बढ्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।