काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अहिले हिँडिरहेको मार्गबाट मुलुक शान्ति, स्थायित्व र समृद्धितर्फ नजाने बताएका छन्। उनले त्यसको निमित्त वैकल्पिक मार्ग आवश्यक भएको बताए।
पार्टीको स्थानिय तह निर्वाचन परिचालन समितिको भर्चुअल बैठकमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता विदेशीले बोकाइदिएको भारी भएको बताए।
नेपालको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा राप्रपालाई स्थापित गराउने भन्दै उनले गणतन्त्र ,धर्म निरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र , सनातन हिन्दुराष्ट्र र स्थानिय स्वायत्त शासनमा आधारित विकेन्द्रीत शासन प्रणाली मुलुकको निमित्त आवश्यक भएको दाबी गरे।
स्पष्ट विचार र अलग पहिचान स्थापित गर्न लागिपरेका सिद्धान्तनिष्ठ नेताकार्यकर्ता पार्टीको पुँजी भएको भन्दै थापाले इमानदारीता पूर्वक निर्वाचन केन्द्रित हुन कार्यकर्ताहरुलाई आग्रह गरे।
विदेशी हस्तक्षेप र प्रभावलाई रोक्न स्वाधीनताको रक्षाको निमित्त राप्रपा बलियो हुन अपरिहार्य भएको उनले तर्कसमेत गरे।
भर्चुअल बैठकमा गण्डकी सहित प्रदेश ५, ६ र ७ प्रदेशका जिल्ला अध्यक्षहरुको सहभागीता रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।