काठमाडौं– सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरि नहुने आदेश जारी गरेको हो।
सर्वोच्चले जसपा अध्यक्ष उपेन्द्र यादवसहित अन्य विपक्षीहरुलाई लिखित जवाफसहित उपस्थित हुन भनेको छ। दुवै पक्ष उपस्थित भएपछि अन्तरिम आदेशका बारेमा निर्णय हुने सर्वोच्चले जनाएको छ।
सर्वोच्चले तत्काल अन्तरिम आदेश जारी नगरेपछि जनता समाजवादी पार्टीमै रहने ठाकुर पक्षको चाहना अप्ठारोमा पर्ने भएको छ।
आधिकारिकताको सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णय खारेजीको मागदाबीसहित महन्थ ठाकुरले साउन १५ गते (शुक्रबार) सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसअघि पटकपटक पेसी चढेको ठाकुरको मुद्दा हेर्न नभ्याउने हुँदै फेरि पेसी सरेको थियो।
रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।