काठमाडौं– नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री (ओली)लाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा 'बन्धक' बनाइएको आरोप लगाएको छ।
माओवादी केन्द्रकी गण्डकी प्रदेश सांसद दामा शर्माले ओलीलाई ५ दिनसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाइएको दाबी गरिन्। ओलीलाई साउन १५ गतेदेखि मुख्यमन्त्रीको निवासमा 'बन्धक' बनाइएकोमा बुधबार (साउन २०) गते ओली पार्टीको सम्पर्कमा आएको शर्माको भनाइ छ।
‘विमला कमरेड अहिले आएर एमाले हुनै सक्नुहुन्न। उहाँलाई जबरजस्ती मुख्यमन्त्री ज्यूको निवासमा बन्दक बनाएर राखिएको हो,’ शर्माले भनिन्, ‘आज (बुधबार) हाम्रो दलको नेता सोनाम कमरेडलाई फोन र एसएमएसबाट माओवादीमै छु एमाले प्रवेश गरेको छैन भन्नु भएको छ।’
अल्पमतमा परेका मुख्यमन्त्री पोखरेलले आफ्नो पक्षमा बहुमत देखाउन ओलीको हस्ताक्षर किर्ते गरेर एमालेमा फर्किएको भन्नेखालको विज्ञप्ती जारी गर्न लगाएको पनि शर्माले आरोप लगाइन्।
एमाले प्रवेश गरेको भनेर विज्ञप्ती सार्वजनिक गर्दासम्म ओली स्वयंलाई सार्वजनिक नगरिनुले पनि बन्धक बनाइएको पुष्टि हुने माओवादीका नेताहरुको दाबी छ।
एउटा सांसद (ओली)लाई मुख्यमन्त्रीले बन्धक बनाएर राख्दा समेत सञ्चार क्षेत्र चुप लागेर बसेको शर्माको भनाइ छ।
यसबीचमा सांसद ओलीको फोन केही समय खुला रहेपनि धेरैजसो भने बन्द (स्वीच अफ) नै रहेको शर्माको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।