काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको विषयलाई लिएर राष्ट्रिय सभाको बैठकमा एमालेकै सांसदबीच सवाल-जवाफ भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद खिमलाल भट्टराईले नेपाललाई लक्षित गर्दै अराजनीतिक व्यक्ति भनी टिप्पणी गरेपछि नेपाल पक्षकी सांसद इन्दु कडरियाले प्रतिवाद गरिन्।
उनले राष्ट्रिय सभा बैठकलाई सभ्य बनाउन माग गरिन्। 'राष्ट्रिय सभा सैद्धान्तिक विषयहरु सभ्य रुपमा उठाउने थलो हो', कडरियाले भनिन्, 'तर, बैठक राजनीतिक आरोप–प्रत्यारोपमा सीमित भइरहेको अवस्था छ।'
उनले बैठकलाई व्यवस्थित र सभ्य बनाउँदै सञ्चालन गर्नुपर्ने बताइन् । 'बैठकलाई सभ्य र व्यवस्थित बनाएर सञ्चालन गर्नु अवश्यक भयो,' कडरियाले भनिन्।
उनले लगत्तै दार्चुला घटनाबारे सरकारकाे ध्यानाकर्षण गराइन्। पाँचौंपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको घर भएकै प्रदेशमा अहिले पनि तुइनबाट यात्रा गर्नु लज्जास्पद भन्दै भारतीय पक्षको ज्यादतीबाट भएको दुर्घटनामा सरकारले प्रभावकारी कदम चाल्नु आवश्यक भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।