काठमाडौं– पार्टीको आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगको फैसलाविरुद्ध जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले दायर गरेको रिटलाई सर्वोच्च अदालतले यसअघिकै पुरानो मुद्दासँग 'लगाउमा राख्न' आदेश जारी गरेको छ।
जसपाको आधिकारिकता उपेन्द्र यादवलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको बुधबारको इजलासले पुरानो मुद्दासँगै लगाउमा राख्न भनेको हो।
निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंग्याउने पक्रियाअन्तर्गत सनाखत गर्ने निर्णय गरेपछि ठाकुरले ठाकुरले साउन ८ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिटमा आधिकारिकता सम्बन्धी विवाद टुंग्याउन निर्वाचन आयोगले गर्न लागेको सनाखतको पक्रिया रोक्न अन्तरिम आदेशको मागदाबी गरिएको थियो।
ठाकुरले दायर गरेको रिटमा साउन १० गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्यो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि निर्वाचन आयोगले साउन ११ गते जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको सनाखत गरी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने फैसला सुनाएको थियो।
निर्वाचन आयोगको फैसलापछि ठाकुरले साउन १५ गते सर्वोच्चमा पुन: अर्को रिट दायर गरे। साउन १५ गते (शुक्रबार) दर्ता भएपछि साउन १७ गते (आइतबार) र साउन १८ गते (सोमबार) सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नभ्याइने हुँदै पेसी सरेको थियो।
ठाकुरले साउन १५ गते दायर गरेको रिटमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय जनता समाजवादी पार्टी (जसपा)को विधान विपरीत भएको दाबी गरिएको छ।
आधिकारिकताका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४३, ४४, ४५ र ५१, राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २५, तथा प्रमाण ऐन, २०३१ को दफा ३, १४, २१, २५, २६, २८ र ३४ समेतले प्रदान गरेको कानूनी हक एवं नेपालको संबिधान, २०७२ को धारा १७, १८ को उपधारा (१) समेतबाट प्रदत्त मौलिक हक एवं धारा २६९ र २७० बाट प्रदत संवैधानिक हकमा आघात परेको पनि रिटमा दाबी गरिएको छ।
रिटमा महन्थ ठाकुरको निर्णयानुसार २०७८ असार १ गते पेस भएको पदाधिकारी हेरफेरलाई अध्यावधिक गरी मान्यता प्रदान गर्नू भनी आयोगको नाममा परमादेशको आदेश जारी गर्ने मागदाबी गरिएको छ।
तर, सर्वोच्चले भने ठाकुरको मागदाबीअनुसार अन्तरिम आदेश जारी नगरी दुवै मुद्दामा सँगै सुनुवाइ गर्न 'अन्य मुद्दासँगै लगाउ' मा राख्ने आदेश गरेको हो।

निर्वाचन आयोगले सनाखतको प्रक्रिया थाल्दा अल्पमतमा रहेका महन्थले अदालतको सहारा लिन खोजेका थिए। त्यतिबेला उनी सनाखतको प्रक्रिया रोक्ने उद्देश्यसहित अदालत गएका थिए। तर, सर्वोच्चले साउन १० गते उनलाई 'रेड सिंग्नल' देखाइदियो।
निर्वाचन आयोगको फैसलापछि पनि उनी अदालतकै आस गरेर पुन: अर्को रिट लिएर पुगेका थिए। तर, बुधबारको आदेशपछि जसपाको आधिकारिकता पाउने महन्थको झिनो आशामा पनि पूर्णविराम लागेको उनीपक्षकै एक कानुन व्यवसायीले बताए।
'अदालतले उहाँका मागदाबीअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरिदिएको छ। यसको अर्थ उहाँले अब अदालती विकल्पबाट धेरै ठूलो राहत पाउने अवस्था छैन भन्ने हो,' महन्थलाई कानुनी रुपमा सहयोग र सल्लाह दिँदै आएका ती कानुन व्यवसायीले भने, 'अबको विकल्प भनेको उहाँले नयाँ दल खोल्ने वा जसपाको सांसद मात्रै भएर बस्ने हो।'
महन्थ पक्षले ४० प्रतिशत पुर्याएर दल विभाजन गर्ने अवस्था पनि छैन। उनले अर्को दल दर्ता गर्न जसपा 'परित्याग' गर्नुपर्ने हुन्छ। जसपा (दल) त्याग गरेको अवस्थामा उनीसहित उनको पक्षमा जाने नेताहरुको सांसद पद गुम्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।