काठमाडौं– पर्यटन क्षेत्रमा काम गर्ने श्रमिक र व्यवसायीलाई तत्काल खोपको व्यवस्था गर्न होटल संघ नेपालले माग गरेको छ। संघका अध्यक्ष सृजना राणाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठसँग भेट गरी व्यवसाय सञ्चालनका लागि तत्काल खोप लगाउनुपर्ने माग गरेकी हुन्।
नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई बधाई दिँदै अध्यक्ष राणाले कोभिड–१९ को महामारीबाट विस्तारै आन्तरिक पर्यटनमार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय दोस्रो लहरबाट झनै संकटग्रस्त अवस्थामा पुगेको बताइन्।
विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नेपाल आउन तत्पर रहेको बताउँदै अध्यक्ष राणाले पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीहरूलाई खोप उपलब्ध गराउन सके पर्यटक आगमनको सम्भावना रहेको राज्यमन्त्रीलाई जानकारी गराएकी थिइन्।
भेटका क्रममा राज्यमन्त्री श्रेष्ठले यथाशक्य खोप उपलब्ध गराउने आश्वासन व्यक्त गरेको संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।