काठमाडौं– केही दिन 'सम्पर्क विहीन' रहेर नेकपा एमालेतर्फ खुलेकी लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री ओलीलाई नेकपा माओवादी केन्द्रले 'कारबाही' गर्ने भएको छ।
माओवादी केन्द्रकै सांसदका रुपमा प्रदेश सभामा प्रतिनिधित्व रहेको अवस्थामा ओलीले अर्को पार्टी (एमाले)मा प्रवेश गरेको विषय सार्वजनिक भएको भन्दै माओवादी केन्द्रले उनलाई कारबाही गर्ने तयारी गरेको हो।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा दाङ क्षेत्र नम्बर ३ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित ओलीले सर्वोच्च अदालतको २३ फागुन २०७७ को फैसलानुसार नेकपा विभाजित भएको केही समयपछि माओवादी केन्द्र रोजेकी थिइन्।
ओलीले पत्रकार सम्मेलन नै गरेर दुवै पार्टी एक हुँदा नेकपाबाट चुनाव जितेको र माओवादीबाटै बढी सहयोग पाएकाले माओवादी रोजेको बताएकी थिइन्। जसअनुसार माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलले ओली आफूहरुको सांसद रहेको भन्दै प्रदेश सभा सचिवालयमा जानकारी गराएको थियो।
तर, लुम्बिनीमा पुन: सरकार फेरबदलको रस्साकस्सी सुरु भएपछि ओली एमालेतर्फ खुलेकी हुन्।
माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका उपनेता कृष्णध्वज खड्काले ओली आफूहरुको सांसद भएको र अहिले दल परिवर्तन गरेको भनेर विज्ञप्ती निकालेकाले सांसद पदबाट कारबाही गरिने बताए।
सांसद ओलीका विषयमा छानबिन गर्न माओवादीले तीन सदस्यीय कार्यदल समेत बनाएको खड्काले बताए। छानबिन समितिले छानबिन सकेर 'प्रतिवेदन' बुझाएलगत्तै ओलीलाई सांसद पदबाट कारबाही गरिने खड्काको भनाइ छ।
'विमला कमरेड एमाले प्रवेश गरेको खबर आएको छ। उहाँसँग सम्पर्क गरेर बुझ्ने प्रयास गर्छौं। मिडियामा आएका कुराहरु के हुन् बुझ्नुपर्ने हुन्छ। त्यो बुझ्नको लागि संसदीय दलबाट तीन सदस्यीय कार्यदल बनाएका बनाएका छौं। कार्यदलले उहाँको बारेमा बुझ्ने छ,’ नेपाल लाइभसँग कुरा गर्दै खड्काले भने, ‘छानबिनका क्रममा उहाँ के कति कारणले एमाले प्रवेश गर्नुभयो? कुनै बाध्यता वा प्रलोभनमा पारियो कि त्यो सबै कार्यदलले बुझ्ने छ। सबै छानबिन भइसकेपछि माओवादी सांसद नरहेको पाएमा दलले सांसद पदबाट कारबाही गर्छ।’
कानुनी र राजनीतिक दुबै दृष्टिकोणले ओली माओवादी सांसद भएकाले एमालेमा सामेल हुन नमिल्ने खड्काको भनाइ छ।
ओली सूर्य चिह्नबाट चुनाव लडे पनि एमाले संसदीय दलको बैठकमा एक पटक पनि सहभागी नभएको तथा उनी एमालेको सांगठनिक जिम्मेवारीमा समेत नरहेको खड्काले दाबी गरे।
‘सर्वोच्च अदालतले एमाले माओवादी ब्यूँताएपछि दल रोज्ने क्रममा माओवादीलाई रोजेर अध्यक्ष प्रचण्डलाई निवेदन दिनुभयो। अध्यक्षको तोक निर्देशन बमोजिम नै संसदीय दलमा सामेल गरियो। पछि उहाँले सभामुखलाई मैले स्वतन्त्र रुपमा माओवादी केन्द्र रोजेर सामेल हुने भए भनेर निवेदन दिनुभयो,’ खड्काले भने, ‘त्यसपछि संसदीय दलमा माओवादी सांसदसंगै सामेल भइ संसद भवनमा प्रतिपक्षकै रोहमा बस्नुभयो। त्योपनि संसदमा अध्यावधिक छ।’
एमालेले स्पष्टीकरण सोध्दा समेत ओलीले स्वेच्छाले माओवादीमा सामेल भएको भनेर जवाफ फर्काएको खड्काले बताए। ओली माओवादी केन्द्रको सांसद भएको विवरण निर्वाचन आयोगले समेत दर्ता गरेर राखेको खड्काको भनाइ छ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्रनम्बर ३ (ख)बाट निर्वाचित उत्तर कुमार ओलीको निधन भएपछि उपनिर्वाचन हुँदा उत्तरकी श्रीमती विमला नेकपा उम्मेदवारको रुपमा निर्वाचनमा उठेकी थिइन् र विजयी भएकी थिइन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै विमलाले नेकपामा हुँदा आफूले सूर्य चिह्नबाट चुनाव जितेको र अहिले सूर्य चुनाव चिह्न एमालेको भएको हुँदा माओवादी रोज्ने कुरा कानुनी रुपमा ठिक नभएकाले आफू एमालेमै रहेको बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।