फाइल तस्बिर
काठमाडौं- यो वर्ष (सन् २०२१) को सात महिनामा हवाईमार्गबाट नेपालमा ६१ हजार ४९ जना विदेशी पर्यटक भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर जनवरीदेखि जुलाईसम्म ती पर्यटक नेपालमा भित्रिएका हुन्।
नेपाल पर्यटन बोर्डका अनुसार वर्षको पहिलो महिना जनवरीमा आठ हजार ८७४ जना हवाईमार्गबाट नेपाल आएका थिए। अप्रिल महिनामा सबैभन्दा धेरै २२ हजार ४५० पर्यटक भित्रिएको तथ्यांक छ। यस्तै फेब्रुअरीमा नौ हजार १४६ र मार्चमा १४ हजार ९७७ पर्यटक भित्रिएकोमा मे र जुन महिनामा घट्दै क्रमश: एक हजार ४६८ र एक हजार १४३ जनामा सीमित भएका थिए। पछिल्लो महिना जुलाईमा दुई हजार ९९१ जना पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपाल भित्रिएका छन्। जुलाई महिनामा नेपालबाट तीन हजार १५७ विदेशी पर्यटक हवाईमार्ग प्रयोग गरी बाहिरिएको तथ्यांक छ।
जुलाई महिनामा हवाईमार्ग हुँदै नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्षको सोही महिनाको तुलनामा दुई हजार ७९६ ले बढी हो। गत वर्ष (सन् २०२०) जुलाईमा १९५ जना विदेशी पर्यटक मात्र नेपाल आएका थिए। कोभिड महामारी अघिको वर्ष (सन् २०१९) जुलाई महिनामा ७० हजार ९१६ जना विदेशी पर्यटक हवाईमार्गबाट नेपाल भित्रिएका थिए।
यो वर्षको जुलाईमा हवाईमार्गमार्फत् भित्रिएका पर्यटकमा सबैभन्दा बढी भारतीय नागरिक छन्। सो महिनामा भित्रिएका पर्यटकमध्ये एक हजार १०५ जना भारतीय छन्, जसले कूल संख्याको ३६.९ प्रतिशत ओगट्छ।
दोस्रोमा अमेरिकाबाट २७.४ प्रतिशत अर्थात् ८१९ जना पर्यटक जुलाई महिनामा नेपाल भित्रिएको तथ्यांक छ। यस्तै बेलायतबाट १८५, क्यानाडाका ७८, दक्षिण कोरियाबाट ५८, अस्ट्रेलियाबाट ५२, चीनबाट ५०, बेल्जियमबाट ४५, फ्रान्सबाट ४१, जर्मनीबाट ३४, नेदरल्याण्ड्सबाट २६, रसियाबाट १९, स्पेनबाट १३, स्वीजरल्याण्डबाट १२, इटालीबाट नौ जना पर्यटक हवाईमार्गबाट नेपालमा भित्रिएको तथ्यांक छ। यसबाहेक अन्य विभिन्न मुलुकबाट समेत पर्यटक भित्रिएको बोर्डले जनाएको छ।
सरकारले कोभिडको दोस्रो लहर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान बन्द गरेपछि हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्या घटेको थियो। निषेधाज्ञा खुकुलो बनाउँदै हाल उडान खुल्ला गरिसकेको छ। तर, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले तत्काल पर्यटकको आगमन बढ्ने सम्भावना नरहेको सरोकारवाला निकायका अधिकारीहरु बताउँछन्।
सन् २०२० र २०२१ को जुलाई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर नेपालमा भित्रिएका पर्यटक:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।