तस्वीर : जितबहादुर बस्नेतको फेसबुकबाट। काठमाडौं– शनिबार राति भारी वर्षा भयो। केहीबेरमै खोला गडगडाउन थाले। सामान्यतया पानी भए नभएकै पत्ता नहुने खहरे त्यो दिन डरलाग्दो गरी उर्लिए। चकमन्न रात थियो, मीना सिग्देललाई आइतबार हुने परीक्षाको चिन्ता थियो। शान्त वातावरण चाहिएका बेला खहरेले ‘डिस्टर्ब’ मन एकलास हुनै पाएन। उनलाई झिंजो लाग्यो। कामना गर्थिन्, ‘यो पट्यारलाग्दा आवाज एकैछिन शान्त भइदेओस्। आकाश रुन छाडोस्।’
आकाश रुँदा धर्ति पग्लिएर सानोठूलो पहिरो गएपछि खहरेमा बैंश आउँछ। खहरेको बैंश प्राय: विनासकारी हुन्छ। साउन पर्खेर बस्ने झरीले किन सुन्थ्यो, मीनाको आवाज। रातभरि झरी परिरह्यो।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ सिग्देल टोलकी उनी इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन्। परीक्षा चलिरहेको छ। कोरोनाले कलेज नै गएर पढ्न नपाएकी उनी जोडतोडले तयारी गरिरहेककी थिइन्। रातभरि परेको झरीले उनको जीवनमा अर्को चिन्ता थपियो।
गत असार १ गते नै आएको बाढीले तहसनहस पारेको थियो मेलम्ची क्षेत्र। फेरि १६ गते राति परेको पानीले थप समस्या पार्ने अनुमान गर्न उनलाई गाह्रो भएन। परीक्षा केन्द्र इन्द्रावती क्याम्पससम्म जान एक्लै नसकिने अनुमान राति नै लगाइन् । सानोतिनो पानीमै भत्किने बाटोघाटो त्यो पानीले झन् ध्वस्त बनाउने उनले बुझेकी थिइन्।
उनले नजिकै बस्ने शिक्षक जितबहादुर बस्नेतसँगै जाने निधो गरिन्। सोही क्याम्पसमा अध्यापन गराउने बस्नेतलाई राति फोन गरिन्। उनले भनिन्, ‘बाढीले बाटो बिगारेजस्तो छ। म एक्लै जान अप्ठ्यारो पर्ला जस्तो छ। सँगै जाऔं है सर।’
सामान्य अवस्थामा इन्द्रावती क्याम्पस उनीहरुको घरबाट ४५ मिनेटमै पुगिन्छ। तर, बाटो बिग्रेको अवस्थामा समय धेरै लाग्ने नै भयो। त्यसैले साढे ४ बजे नै हिँडेर ७ बजेको परीक्षाका लागि पुग्ने तयारी गरिन् उनले।
पूर्वसल्लाहअनुसार शिक्षक जितबहादुर र मीना बिहान साढे ४ बजे नै घरबाट निस्किए। घरबाट केही तल झरेपछि राति सुसाएको नुहार खोलामा उनीहरु पुगे। खोला नजिकको सडकमा उनीहरु हिँड्दै थिए। ‘सडक पनि थर्किएको आवाज सुनिन्छ। सँगै मन पनि थर्किरहेको छ। यतिबेलासम्म मनमा थोरै डर थियो,’ मीनाले सुनाइन्, ‘हामी झन् अघि बढ्थ्यौं। उस्तै डरलाग्दो बाढी, दलदल, पहिरो, सडक थर्किएको आवाज महसुस हुन्थ्यो।’
बाटो थर्किदा त्यसको झड्काले मुटु पनि थर्काउँथ्यो। तर, परीक्षा दिन जानैपर्ने थियो, मन बलियो बनाएर पाइला अघि बढाउनै पर्ने थियो। नुहार खोला पुग्नै लाग्दा आउने उकालो बाटोनेर भने सडक बगाएर पानी भित्तासम्मै पुगेको थियो। उनको मनमा परीक्षा छुट्ने चिन्ता थियो। तर, प्राकृतिक प्रकोपले जोखिमपूर्ण बनाएको बाटोबाट विद्यार्थीलाई स्कुल जान सकिने अवस्था नरहेको आकलन शिक्षक बस्नेतले गरे। उनको प्रस्ताव थियो, ‘तिमी अगाडि जान सक्दैनौं होला। बरु फर्कौं। म त स्कुल नगए पनि हुन्छ। ज्यान जोगिए परीक्षा अर्को वर्ष दिन पाइन्छ।’
मीनाले परीक्षा नछुटाउने बरु वैकल्पिक बाटोबाट जाने प्रस्ताव गरिन्। त्यसपछि उनीहरुले खोला माथिपट्टीको कुलोबाट अघि बढे। उनले भनिन्, ‘कुलोको बाटो पनि उस्तै अफ्ठ्यारो थियो। अनुमानको भरमा पाइला टेक्दै हिँड्नुपर्ने।’
त्यसपछि उनीहरुको लगातार थप जोखिमपूर्ण यात्रा चल्यो। कहीँ पहिरो, कतै घारी त कतै काँडा र तल हेर्दा खोलामा डर लाग्दो बाढी। माथि हेर्यो, अहिले नै झर्ला जस्तो पहिरो। यस्तो कठिन बाटोमा कहिले भित्तो समाउँदै त कहिले लौरो टेक्दै उनीहरु अघि बढे।
सीमखेतसम्म पुगेपछि झन् कठिन भयो उनीहरुलाई। ‘बाटो कहाँ थियो भनेर अनुमान समेत लगाउन सक्ने अवस्था थिएन। भित्तैसम्म खोला पुगेकाले सडक देखिएन,’ उनले सम्झिइन्, ‘उसैगरी भित्तो समाउँदै उनीहरु अघि बढ्यौं। मेलम्ची पुग्नै लाग्दा पहिरो गएको रहेछ। त्यसपछि हाम्रो यात्रा फेरि अन्योलग्रस्त बन्यो।’
घडीले सात बजिसकेको थियो। परीक्षा त सुरु भइसकेको छ। उनको मनमा रनाहा छुट्यो, ‘अब त जति सक्यो चाँडो परीक्षा केन्द्र पुग्नुपर्छ।’ उनले पाइला अघि बढाइन्। वरपरका मान्छेहरुले रोके। कोही त्यो बाटो नहिँडेको भन्दै जे पनि हुनसक्ने बताए। मीनाको मनमा परीक्षा छुट्ने डरले उठेको हडबडाहट उनीसँगै रहेका शिक्षकले बुझेका थिए। तर, उनी ज्यान नै जोखिममा राखेर अघि बढ्ने कुरामा चाहिँ मीनालाई सचेत गराइरहेका थिए।
मीनाको मनमा अन्य सुरक्षित बाटो खोज्दा परीक्षा छुट्ने डर पस्यो। उनले हिम्मत गरेर भनिन्, ‘सर तपाई अघि हिँड्नु, म पछि हिँडछु। जाम यहीबाट जे होला होला।’
कलेजको परीक्षा दिन ज्यान नै दाउमा लगाउने हिम्मत जुटाइन्। मीनाको मन पढेर शिक्षकले आफूलाई जोखिममा राखेर अघि लागे। क्रम उही, बाढीको माथिमाथि भित्ता समाउँदै, लौरी टेक्दै यात्रा।
शिक्षक जितबहादुर बस्नेत र मीना सिग्देल। तस्वीर : बस्नेतको फेसबुकबाट।परीक्षा केन्द्र इन्द्रावती बहुमुखी क्याम्पस पुग्दा साढे ७ बजिसकेको थियो। परीक्षा सुरु भएको आधा घण्टा बितिसिकेको थियो। मीनासँग हिलो पखाल्ने समेत समय थिएन। उनी त्यस्तै परीक्षा हलभित्र पसिन्।
‘म त किसानको छोरी। दिनभरी खेतमा धान रोप्दा पनि त्यति हिलो हुँदैन थियो। जति हिलो परीक्षा हलमा म बस्दा थियो। परीक्षा हलबाट निस्किएपछि बल्ल हिलो पखालेँ,’ मीना भन्छिन्।
उनले यस्तो जोखिमपूण यात्रा गरेर परीक्षा दिइन्। कथा त्यसपछि सुरु भयो, जब ती यात्राका केही तस्बिर उनीसँगै गएका शिक्षक जितबहादुर बस्नेतले फेसबुकमा पोष्ट गरे। परीक्षा सकिएपछि मोबाइल हेर्दा दर्जन बढी मिसकल उनले देखिन्।
पहिलो कलब्याक आमालाई गरिन्। जितबहादुरले फेसकुबमा राखेको तस्वीर हेरेर उनकी आमाले मन नथाम्न नसकी फोन गरेकी रहिछन्। मीनाले सम्झिइन्, ‘आमा फोनमै रुन थाल्नुभयो। त्यसपछि भने मलाई मूर्ख्याइँ गरेको महुसुस भयो।’
आउँदो २२ गते पनि परीक्षा छ। अब भने बाबाआमाको आग्रहलाई मान्दै अघिल्लो दिन नै क्याम्पस नजिकको साथीको घरमा बस्न जाने योजना बनाएकी छिन्। उनी भन्छिन्, ‘परीक्षा त छाड्ने कुरा भएन। अघिल्लो दिन नै उतै साथीकोमा बसेर दिने सोच बनाएकी छु। बाबाममीको पनि त्यही सल्लाह छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।