पोखरा– प्रदेश ४ को नाम गण्डकी र राजधानी पोखरा हुने देखिएको छ। प्रदेश राजधानी तथा नाम सिफारिस गर्न गठन भएको समितिको प्रतिवेदनले नाम र राजधानी सिफारिस गरेको हो।
समितिले प्रस्तुत गरेको प्रतिवेदन अनुसार नाम र राजधानीमा सुझाव लिएकामध्ये ९३ प्रतिशतले राजधानी पोखरा बनाउन भनेका छन् भने ३ प्रतिशतले गोरखा र बाँकीले अन्य ठाउँ बनाउन सुझाव दिएका छन्।
सोमबार बसेको प्रदेशसभाको बैठकमा प्रतिवेदन समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले प्रतिवेदन प्रस्तुत गरेका हुन्।
प्रतिवेदनका लागि समितिले ९ सय ५ जना व्यक्ति छानेको ज्येष्ठ सदस्य थापाले बताए।
‘सबै जिल्ला र राजनीतिक दलले दिएको सुझाव अनुसार राजधानी पोखरा नै छ’, उनले भने।
थापाका अनुसार, प्रदेशको नाममा सबैभन्दा बढी मत ‘गण्डकी’ मा छ।
‘जिल्लामा गरिएको छलफलमा भाग लिएका ३ सय ४६ व्यक्ति तथा संस्थाले प्रदेशको नाम गण्डकी नै रोजेका छन्’, उनले भने, ‘यो भनेको कुल ४५ प्रतिशत हो।’
यसपछि प्रदेशको नाम तमुवान–मगराँत राख्न माग गर्नेहरुको संख्या अधिक छ। छलफल तथा जनमतमा २ सय ६० अर्थात् ३४ प्रतिशतले तमुवान–मगरात प्रदेश राख्न माग राखेका थापाले बताए। जनमतमा गोरखा प्रदेश नामका लागि ७२ जनाले लिखित सुझाव दिएको उनले बताए।
प्रदेशको नाम धौलागिरी राख्न ३ प्रतिशत र बाँकीले अन्य नाम सुझाव दिएका छन्।
प्रतिवेदन अनुसार ८ जिल्लाले प्रदेशको नाम गण्डकी माग गरेका छन् भने ३ जिल्लाले तमुवान–मगरात लगायतका नाम राख्न माग राखेका छन्।
प्रदेश नामकरण गर्न तत्कालीन एमाले, कांग्रेस र जनमोर्चाले गण्डकी प्रदेश र नयाँशक्तिले गण्डक तमुवान बनाउन सुझाव दिएको तर तत्कालीन माओवादीले धारणा नै नदिएको थापाले बताए।
प्रदेशले गत चैत १२ गते प्रदेश राजधानी तथा नामकरण सिफारिस समिति गरेको थियो। उक्त समितिले जिल्लागत सुझाव तथा छलफल र ११ पटक बैठक बसेर प्रतिवेदन पेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।