काठमाडौं- बुद्ध एयरले नेपालगञ्ज-पोखरा उडान सुरु गरेको छ। बुद्धले पर्यटन प्रवर्द्धनका लागि साताको तीन दिन उडान सञ्चालन गर्ने भएको हो।
पश्चिम क्षेत्रको बाँके र बर्दियालाई पोखरा लक्षित गरी उडान सुरु गरिएको कम्पनीले जानकारी दिएको छ। बुद्ध एयरको उडान नं. ४६२ ले आज नेपालगञ्जबाट पोखरा जाने यात्रुसहित उडान भरेको थियो।
'नेपालगञ्जबासीको वर्षौंदेखि प्रतिक्षारत नेपालगञ्ज-पोखरा उडान सुरु भएको छ। पर्यटन प्रवर्द्धनमा नेपालगञ्जका लागि निकै उपयोगी मानिएको यो उडानमा आउने र जाने यात्रुलाई भव्य स्वागत गरिएको छ,' बुद्ध एयर नेपालगञ्जका स्टेसन म्यानेजर विनितविक्रम शाहले भने।
पर्यटन प्रवर्द्धनमा सक्रिय रहेका नेपालगञ्जका अगुवाहरु विमानस्थलमा पुगेका थिए। पहिलो चरणमा सातामा तीन उडान सुरु गर्न लागिएको शाहले जानकारी दिए।
नेपालगञ्ज-पोखरा उडानको एकतर्फी भाडा न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९३५ रुपैयाँ गरी तीन किसिमको कायम गरिएको छ। यात्रुको चापका आधारमा निकट भविष्यमा दैनिक हवाई उडान हुनसक्ने शाहले बताए। भारतीय पर्यटकलाई लक्षित गरी नेपालगञ्ज-पोखरा हवाई उडान सुरु गरिएको उनले बताए।
यसअघि दोस्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्सी बाँकेले सीता एयरसँग समन्वयमा जहाज लिएर चार्टर्ड उडान गर्दै आएको थियो। पोखरादेखि नेपालगञ्ज सजिलै र यो उडान अति नै अवश्यक रहेको यात्रु गोविन्द झाले बताए।
नेपालगञ्ज नजिक भारतको ठूलो सहर लखनउ पर्दछ। भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागिसमेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ। नेपालगञ्ज-पोखरा पहिलो उडान भर्न लागेका क्याप्टेन मनिष पुनले पोखराबाट ३४ मिनेटमा नेपालगञ्ज आइपुगेको बताए। नेपालगञ्जदेखि पोखराको उडान समय पनि ३५ देखि ४० मिनेटको हुनसक्ने क्याप्टेन पुनले बताए।
उडानको सुरुआत भएको खुसीयालीमा नेपालगञ्जका व्यवसायीले यात्रु, विमानका पाइलटसहितका कर्मचारीलाई स्वागत गरेका थिए। बुद्ध एयरले नियमित उडानसँगै टुर प्याकेजसमेत सार्वजनिक गरेको छ। टुर प्याकेजमा बर्दियामा पोखराबाट आउनेका लागि दुई दिन तीन रातको योजना छ। योजना १० हजार ९९९ रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ। त्यस्तै नेपालगञ्जबाट पोखराका लागि पनि त्यस्तै योजना १३ हजर ४९९ रुपैयाँबाट सुरु भएको कम्पनीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।