काठमाडौं– नेकपा एमालेको एकताको लागि चर्चामा रहेको दुईटा अध्यक्षको अवधारणाप्रति महासचिव ईश्वर पोखरेलले आफ्नो असन्तुष्टि दोहोर्याएका छन्।
आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग बोल्दै महासचिव पोखरेलले सबै कुरा पार्टीको विधान र संस्थागत निर्णय अनुसार हुनुपर्ने बताए।
'दुईटा अध्यक्ष, तीनटा अध्यक्ष भनेर प्राविधिक ढंगका कुराले पार्टी एकतालाई सघाउँदैन। पार्टीमा जे गर्ने हो, उन्नत स्तरको एकता कायम गर्नका लागि जे काम गरिन्छ, ती सबै कामहरु पार्टीको विधानसम्मत हुनुपर्यो। हामी जब २०७५ जेठ २ गते पुग्नुपर्छ भनेर त्यसैलाई लेजिटिमेट बोर्डरलाइन भन्दैछौं भने त्यसको वैधानिक व्यवस्था जुन छ, त्यसमा उभिएर अगाडि बढ्नुपर्यो। केही कुरा हामीले गर्नुपर्छ भने पनि संस्थागत ढंगले औपचारिक निर्णय गरेरै गर्नुपर्छ', उनले भने।
उनले पार्टीलाई उन्नत तहमा एकताबद्ध बनाएर लैजानका लागि तत्कालीन रुपमा जे–जे गर्नुपर्छ त्यो गर्न सकिने बताए। उनले माधव नेपाल पक्ष नआए पनि नेकपा एमाले आफ्नो गतिका साथ अगाडि बढ्ने बताए। तर, सम्भव भएका सबै साथीहरु एकताबद्ध भएर जाने कुराप्रति संकीर्णता अपनाउनु नहुने उनको भनाइ थियो।
'हाम्रो पार्टीको नियमित काम र गतिविधिहरु जारी रहन्छन्। जस्तो बैठकको काम कारबाही जारी छ। बैठकले निर्णय गर्ने कुरा जारी छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।