काठमाडौं– नेकपा एमालेले पार्टी सदस्यताको नवीकरण र अध्यावधिक गर्न समयसीमा तोकेको छ। आइतबार तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटीको बैठकले सदस्यता नवीकरण र अध्यावधिकका लागि समयसीमा तोकेको हो।
'आज हामीले खासगरी पार्टी सदस्यतालाई नवीकरण गर्ने र अध्यावधिक गर्ने एउटा समयसीमा तय गरेका छौं। पहिले नै निर्देशन दिइसकेको हो। अब साउन २३ गतेभित्र सबै ठाउँका पार्टी कमिटीहरुले, खासगरी जिल्ला पार्टी कमिटीले, प्रदेश पार्टी कमिटीले सदस्यता नवीकरण र अध्यावधिक गरेर केन्द्रमा पठाइसक्नुपर्छ', बैठकले गरेका निर्णयबारे जानकारी गराउँदै महासचिव ईश्वर पोखरेलले भने।
उनले भदौ २७ र २८ गते विधान महाधिवेशन गर्न लागिएकाले सदस्यता अध्यावधिक र नवीकरण गर्ने कुरा टुंग्याउनका लागि सो निर्णय गरिएको बताए।
पोखरेलका अनुसार एमालेले देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने छ। त्यस्तै, असोज ९ गते पालिका स्तरका अधिवेशन गर्ने छ। 'विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्नेछ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।