काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।
भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडिबाट २०७६ सालमा हराएको मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने १९ वर्षीय दिपेन्द्र भुजेल र ताप्लेजुङका १९ वर्षीय विशेष लिम्बु पक्राउ परेका हुन्।
वास्तविक नम्बर बा ९७प १३०५ भएको कालो, रातो रङको १५० सीसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरि बा ९५प ४१६८ भएको अवस्थामा ट्राफिक प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको महाशाखा प्रमुख, एसएसपी जनक भट्टराईलले बताए।
यस्तै, पशुपति क्षेत्रबाट हराएको कीर्तिपुर बस्ने प्रशान्त रावलको बा९६प ८८३६ नम्बरको कालो एनएस पल्सरको वास्तविक नम्बर परिवर्तन गरि बा९१प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषा मिथिलाका २१ वर्षीय विकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको छ।
पक्राउ परेका तीनैजनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीका लागि प्रहरी वृत्त ठिमीमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ।
उपत्यकाका विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरुलाई न्यूनीकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा संलग्न गिरोहलाई विशेष निगरानी गर्न, सूचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न विशेष अभियान सञ्चालन भइरहेको ट्राफिक प्रहरी प्रमुख, एसएसपी भट्टराईले बताए।
गत आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।