काठमाडौं- सांसदहरूको तलब भत्ता अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत् भुक्तानी हुने भएको छ। यसअघि संघीय संसद् सचिवालयले सांसदहरूको तलब भत्ता निजी बैंकमार्फत् उपलब्ध गराउँदै आएको थियो।
लामो समयको प्रयत्नपछि नीजि बैंकबाट हुँदै आएको संघीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत् प्रारम्भ गरिएको संसद् सचिवालयले जनाएको छ।
'यसअघि संघीय संसद्को बैठकमा माननीय सदस्यहरूले पटक पकट सरकारी खाता निजी बैंकमार्फत् सञ्चालन गरिएको विषय उठाउनु भएको र अन्य सार्वजनिक कार्यक्रमहरु र सञ्चारमाध्यमहरुमा समेत यो विषय उठान भएको थियो । यस विषयमा कुरा उठे पनि कार्य प्रगति हुन सकिरहेको थिएन', संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
संसद् र अन्य माध्यमहरुमा कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन बमाेजिम संघीय संसद् सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंकमार्फत् गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको संसद् सचिवालयले जनाएको छ।
संसद् सचिवालयले खाता परिवर्तनका लागि ३१ असारमा अर्थ मन्त्रालयलाई पुनः ताकेता गरेको थियो। अर्थले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रण कार्यालयमार्फत् सिंहदरबारस्थित सबै सरकारी कार्यालयका खाता १ साउनदेखि राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्न स्वीकृत दिएसँगै सांसदको तलब भत्ता पनि वाणिज्य बैंकमै जाने भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।