काठमाडौं- चार कम्युनिस्ट पार्टीले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घट्नाको विरोध जनाएका छन्।
चार पार्टीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटना अमानवीय, आततयी र वर्वरतापूर्ण भएको उल्लेख गर्दै निन्दा र भर्त्सना व्यक्त गरेका छन्। नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण', नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव', नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतिले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त घटनाको विरोध जनाएका हुन्।
उनीहरुले घटनाको वास्तविकता यथाशक्य सार्वजनिक गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
'यो घटना नेपाली राष्ट्रिय स्वाधिनतामाथिको भारतीय शासक वर्गको नांगो षड्यन्त्र र हस्तक्षेप हो। यो घटनाबाट बेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शीघ्रतिशिघ्र कारबाही गर्न विश्वासिलो छानविन अगाडि बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।
यसअघि आजै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्याँस गाउँपालिका-२ का धामीको घटनाबारे भारतीय पक्षसँग जानकारी माग गरेको विज्ञप्तिमार्फत जानकारी दिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।