काठमाडौं- जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्याँस गाउँपालिका- २ का जयसिंह धामीको घटनाबारे भारतीय पक्षसँग जानकारी माग गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना (भट्ट)ले शनिबार एक विज्ञप्ति निकाल्दै घटनाका विषयमा सत्यतथ्य जानकारी गराई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन भारतीय समकक्षीलाई पत्रचार गरिएको जानकारी दिएकी हुन्।
शुक्रबार सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्दै गरेको बेला भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले डोरी काटिदिँदा ३५ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।
महाकाली तर्ने क्रममा भारत पांगलमा रहेका एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले पुष्टि गरेका छन्।
यद्यपि, यो घटना छानबिनकै क्रममा रहेको भन्दै सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन प्रशासन कार्यलयले आग्रह गरेको छ।
सत्य तथ्य बुझ्न घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण दार्चुला, जिल्ला प्रहरी कार्यालय, दार्चुला र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय दार्चुलाबाट टोली खटिएको प्रशासन कार्यलयले जनाएको छ।
यद्यपि, हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभइसकेकोले अनुसन्धानपश्चात् घटनाको सत्य तथ्य जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ।
धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन्। नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलंगा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।