काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै फर्केर प्रधानमन्त्री हुन्छु कि भनेर जालझेल र षड्यन्त्र नगर्न सुझाएका छन्।
शनिबार काठमाडौंको कार्की बैंक्वेटमा अखिल फोर्सको बृहत् भेलामा बोल्दै उनले यो सरकारले राम्रो काम गर्नुपर्ने बताए। 'प्रतिनिधि सभाको रक्षा गर्दै सांसदहरुले भोट दिएर यो सरकारलाई ल्याएका छन्। त्यसैले यो सरकारले राम्रो काम गर्नुपर्छ अब। यो प्रतिनिधि सभालाई विघटन गर्ने कसैले दुष्साहस नगरोस्। फेरि फर्केर प्रधानमन्त्री बन्छु कि भनेर जालझेल र षड्यन्त्र कसैले नगरोस्। जे गर्नुछ, पारदर्शी तरिकाले हुनेछ,' उनले भने।
उनले सर्वोच्च अदालतको फैसलाले लामो समयदेखि गलत बाटोमा गइरहेको देशलाई, लोकतान्त्रिक आन्दोलनको प्रवाहलाई ठीक बाटोमा ल्याउने काम गरेको बताए। 'यो संविधानको संरक्षण भएको छ। सही व्याख्या गरिएको छ। गलत कामलाई सच्याउने काम भएको छ। सर्वोच्च अदालतप्रति हामी सम्मान व्यक्त गर्न चाहन्छौं,' उनले भने।
नेता नेपालले नेपाली जनताले राजतन्त्रलाई ढालेको भन्दै त्यो फेरि फर्केर नआउने बताए। 'राजतन्त्रलाई फेरि कसैले ल्याउने दुष्साहस गर्छ भने इतिहासको कुडाकर्कटमा फालिनेछ तिनीहरुलाई सधैँसधैँका निम्ति। देशको हितमाथि कुठाराघात गर्ने र देशको अखण्डतामा आँच पुर्याउने कुनै पनि प्रवृत्ति छ भने त्यसलाई कुनै पनि हदमा छुट दिन सकिँदैन। हामीले रगत पसिना बगाएर ल्याएको संविधानको मर्यादाको रक्षा गर्छौं। यो संविधानलाई कसैले कुल्चिने काम गर्छ भने हामीलाई स्वीकार्य छैन,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।