काठमाडौं- नेकपा एमालेले शनिबारका लागि बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।
आज तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बोलाइएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठकमा उपस्थित हुन नेता नेपालपक्षलाई पनि खबर गरिएको छ। तर, नेपालपक्षका नेताहरुले भने बैठकमा सहभागी हुने सम्भावना नरहेको बताए।
नेता गोकर्ण विष्टले यही अवस्थामा बैठकमा सहभागी नहुने बताए। 'यही अवस्थामा बैठकमा सहभागी हुन्नौं होला, सहमतिको प्रयास जारी छ' नेता विष्टले भने।
विवाद समाधानका लागि सहमतितर्फ जोड दिन र बैठक सार्न नेपालपक्षका कार्यदलका सदस्यहरुले आग्रह गरेका छन्। तर, उनीहरुले गरेको आग्रहलाई अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गर्ने सम्भावना भने न्यून देखिएको छ। यसअघि बैठक सार्न आग्रह गर्दै भीम रावलसहितका कार्यदलका नेताहरु पुगेपनि ओलीले त्यसलाई अस्वीकार गरेक थिए।
नेता विष्टले दिउँसोका लागि बोलाइएको स्थायी कमिटी बैठकअघि एकता कार्यदलको अनौपचारिक बैठक बस्न सक्ने बताए। समय र स्थान भने तय भइनसकेको उनको भनाइ छ।
अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई धेरै पर्खिन नसक्ने स्पष्ट पारेका छन्। त्यसकै लागि ओलीले आफ्नो समूहमा शनिबारसम्मको ‘डेडलाइन’ तोकेका छन् र त्यो समयसम्म सहमति नजुटे स्थायी कमिटी बैठकबाट अघि बढ्ने तयारी गरेका छन्।
फुटको संघारमा पुगिसकेको एमालेलाई एकताबद्ध पार्ने भन्दै ओली र नेपाल पक्ष दुवैले पाँच–पाँच जनाको कार्यदल बनाएका थिए। त्यो कार्यदलले १० बुँदे सहमतिको प्रस्ताव ओली र नेपाललाई बुझाएको थियो। ओली अब त्यही सहमतिअनुसार स्थायी कमिटीबाट निर्णय गरेर अघि बढ्ने ‘मूड’मा पुगेको उनीनिकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।