काठमाडौं– संसदीय समितिले राष्ट्रिय गौरवका आयोजनाका लागि बजेटको सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको हो।
शुक्रबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड ल्याउन सरकारलाई निर्देशन दिएको हो। समितिले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा बाढी तथा पहिरोले पुर्याएको क्षतिका बारेमा छलफल गरेको थियो।
छलफलपछि समितिले आयोजनामा बाढी पहिरोले पुर्याएको क्षतिको मूल्यांकन गरी पुन:निर्माणलाई अविलम्ब सुरु गर्न निर्देशन पनि दिएको छ । मेलम्ची खानेपाी आयोजनाको बाँकी काम सम्पन्न गर्न समेत बजेटको सुनिश्चितता गर्न समितिले सरकारलाई निर्देशन दिएको छ।
समितिले आयोजनासँग प्रत्यक्ष सम्बन्ध राख्ने निकायका बीचको प्रभावकारी सहकार्य र समन्वयको लागि पनि निर्देशन दिएको छ ।
समितिकी अध्यक्ष दिल कुमारी रावल थापा (पार्वती)ले राष्ट्रिय गौरवका आयोजनामा बजेटको सुनिश्चितता र केही आयोजनामा बाढी पहिरोले पुर्याएको क्षतिबारे पूर्ण मूल्याङ्कन गर्न निर्देशन दिइएको बताइन्।
'राष्ट्रिय गौरवको आयोजनामा बजेटको श्रोत सुनिश्चित र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्ड नहुँदा कार्यान्वयनमा जाँदा विभिन्नखाले समस्या आइरहेका छन्,' सभापति थापाले भनिन्, 'राष्ट्रिय गौरवका आयोजनाहरुको बजेटको श्रोत सुनिश्चितता र कार्यविधि सञ्चालनको स्पष्ट मापदण्डका लागि सरकारलाई निर्देशन दिएका छौं।'
समितिले आयोजना कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी आयोजनाबीचमा भएको संरचनात्मक समस्यालाई व्यवस्थित गर्न खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले शहरी विकास मन्त्रालय, मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र काठमाडौं महानगरपालिकाको सरसफाइ विभाग हेर्ने अधिकारीहरुसँग छलफल गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।