प्रतीकात्मक तस्वीर सुर्खेत– सुर्खेतका होटल व्यवसायीले कर्णाली प्रदेश सरकारसँग राहत माग गरेका छन्। होटल व्यवसायी संघ सुर्खेतले बिहीबार कर्णाली प्रदेश सरकारलाई मागपत्र बुझाउँदै कोरोनाका कारण थला परेको होटल व्यवसायलाई उकास्न राहत माग गरेको हो।
कोरोनाकै कारण दुई वर्षदेखि होटल व्यवसाय थला परेकाले आवश्यक नीति तथा कार्यक्रमबाट राहत दिन सरकारसँग अनुरोध गरेको होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष गोरख रावतले बताए।
कोरोना महामारीको यस्तो अवस्थामा खोप दिन पनि कञ्जुस्याइँ गरिरहेको भन्दै अध्यक्ष रावतले व्यवसायीलाई खोपको व्यवस्था गर्न सरकारसँग माग गरिएको बताए। सुर्खेतमा मात्र एक हजार २५० होटलमा पाँच हजार कर्मचारी रहेको उनको भनाइ छ।
प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले होटल व्यवसायीका मागप्रति सरकार गम्भीर रहेको बताएका छन्। व्यवसायीको मागपत्र बुझ्दै मन्त्री बुढाक्षेत्रीले कोरोना महामारीको चपेटामा होटल व्यवसाय क्षेत्र पनि परेकाले प्रदेश सरकारले यसलाई माथि उकास्ने खालका कार्यक्रम ल्याउने बताए।
कोरोना भाइरसविरुद्धको खोप होटल व्यवसायीलाई पनि लगाउन मन्त्रालयले पहल गर्नेे उनको भनाइ थियो।
होटल व्यवसायी र यहाँ काम गर्ने कर्मचारीमा पनि कोरोनाको जोखिम हुने भएकाले केन्द्र सरकारसँग समन्वय गरी खोप लगाउन प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिवद्धता उनले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।