काठमाडौं- नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ-सुकले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन्। बुधबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई लैजाने वातावरण बनाइदिन आग्रह गरे।
कोभिड महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन आग्रह गरेका थिए। ‘ईपीएसअन्तर्गत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरू बेरोजगार बसेका छन्। यो समस्या चाँडै समाधान हुनेमा विश्वास लिएको छु,’ अर्थमन्त्री शर्माले भने।
जवाफमा राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिए। नेपालीहरूको मिहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको प्रसंग उल्लेख गर्दै राजदूत पार्कले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए।
भेटवार्तामा अर्थमन्त्री शर्माले कोभिड-१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वाससमेत व्यक्त गरे। उनले नेपालको स्वास्थ्य, शिक्षा र प्रविधिको क्षेत्रमा कोरियाले गरिरहेको सहयोगप्रति आभार प्रकट गरे।
कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत् लगायतका क्षेत्रमा लगानीसमेत गर्दै आइरहेको छ। कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधा सम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिक्लिनिक कलेजको स्थापना गर्दै छ। उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ।
अर्थमन्त्री शर्माले कोरियासँग नेपालको ४८ वर्षदेखि सुमधुर सम्बन्ध कायम रहिआएको र यसलाई अझै प्रगाढ बनाउन कोसिस गरिने बताए।
राजदूत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको काममा भइरहेको ढिलाइबारे चासो राखेका थिए। आयोजनामा ढिलाइ हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उनले बताए। जवाफमा अर्थमन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकताको क्षेत्र भएकोले काममा गति दिनेतर्फ पहल गर्ने जानकारी दिए।
राजदूत पार्कले कोभिडविरुद्धको खोप अभियानमा आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।