काठमाडौं- झण्डै १६ महिनादेखि ठप्प फिल्म क्षेत्र अझै चलायमान हुन सकेको छैन। दोस्रो लहरपछि पचास प्रतिशत अकुपेन्सीमा हल खुलेपनि दर्शकलाई तान्न सकेको थिएन।
मनोरञ्जनको क्षेत्र भएकाले सरकारका लागि प्राथमिकतामा नपरेपनि अहिले भने फिल्मकर्मीका लागि खोप उपलब्ध गराउने भएको छ। सरकारले यो महिनाको अन्त्यतिर फिल्मकर्मीलाई कोरोनाको खोप उपलब्ध गराउने भएको हो।
चलचित्र विकास बोर्डले फिल्मकर्मीका लागि ३ देखि ५ हजार खोपको माग गर्दै आएको थियो। बारम्बार खोप उपलब्ध गराउने आश्वासन पाएपनि अब भने पक्का भएको बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिए।
केही महिनादेखि नै खोप मागेपनि मन्त्री परिवर्तन हुने क्रम चलेकाले बोर्डलाई समस्या परेको दाहालको भनाइ छ। चीनबाट सरकारले ४० लाख डोज खोप खरिद गरेको र आउने बित्तिकै फिल्मकर्मीलाई प्राथमिकतामा राखेको उनले बताए।
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर चलचित्र विकास बोर्डमा खोप लगाउने योजना आफूहरुले बनाएको बोर्ड अध्यक्ष दाहालको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।