फाइल तस्वीर
काठमाडौं– कोरोना संक्रमण बढेसँगै तीन महिनादेखि बन्द रहेको सौराहामा सञ्चालित जंगल सफारी खुला गरिएको छ।
निषेधाज्ञा जारी भएसँगै गत वैशाख १६ गतेदेखि बन्द गरिएको सफारी पर्यटकीय नगर सौराहा सञ्चालनमा आएको १२ दिनपछि खुला गरिएको हो।
कोरोनाको दोस्रो लहर सुरु भएपछि बन्द भएको हात्ती सफारी, जिप सफारी र डुङ्गा सयर खुला गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।
पर्यटकीय आकर्षणको केन्द्र बीस हजारी तालसहित पर्यापर्यटन सञ्चालन गरिरहेका बाघमारा मध्यवर्ती सामुदायिक वन, जनकौली मध्यवर्ती सामुदायिक वन, चित्रसेन मध्यवर्ती सामुदायिक वन र खैरहनीको कुमरोज सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी र डुङ्गा सयरका लागि निकुञ्जले टिकट खुला गरेको हो। सौराहा यही साउन १ गते देखि ३३ प्रतिशत पर्यटक राख्न पाउने गरी आंशिक रूपमा खुला गरिएको थियो।
सौराहामा आन्तरिक पर्यटक आउन थालेपछि व्यवसायीको आग्रहका आधारमा मध्यवर्तीभित्रका सामुदायिक वनमा सफारी खुला गरिएको उनले जानकारी दिए।
सौराहामा अहिले करिब सयको हाराहारीमा दैनिक पर्यटक पुग्ने गरेका छन्। सामुदायिक वनमा सफारी खुलेसँगै पर्यटकको संख्या बढ्ने अनुमान गरेका छौं,’ क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले भने।
सहज अवस्थामा चितवन निकुञ्जमा वार्षिक करिब दुई लाख पर्यटक निकुञ्ज घुम्न आउने गरेका छन्। सौराहामा १२० भन्दा बढी होटल तथा ८५ को हाराहारीमा रेस्टुरेन्ट छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।