काठमाडौं– ऊर्जाक्षेत्रको विकासमा हुने ढिलासुस्ती कम गर्न आफूले पहल गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बताएकी छन्। ससाना कामका लागि धेरै समय अल्झिनुपर्ने अवस्थामा सुधार ल्याउने समेत उनले बताइन्।
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)सँग मंगलवार मन्त्रालयमा छलफल गर्दै उनले समयको विलम्बलाई पनि अरू आर्थिक भ्रष्टाचारजस्तै मान्नुपर्ने बताइन्।
आचारसंहिता बनाएर काम गर्ने शैलीको विकास गरिने उनले बताइन् । ‘हामीले विधि वा आचारसंहिता केही बनाएर जानुपर्छ,’ मन्त्री भुसालले भनिन्, ‘कतिपय प्राविधिक कामलाई केही समय लाग्छ, त्यसको फरक तरीकाले टीओआर बनाउन सक्छौं।’
मन्त्री भुसालले निजीक्षेत्रले एउटा आयोजना बनाउनका लागि धेरै मन्त्रालय र विभाग धाउनुपर्ने अवस्थाको अन्त्य गर्न छिट्टै अन्तरमन्त्रालय छलफल चलाउने व्यवसायीलाई बताइन्।
ऊर्जा र सिँचाइका कामलाई वस्तुगत र वैज्ञानिक बनाउने उनको भनाइ थियो। ‘एउटै रूखका कारण वर्षौंसम्म काम रोएिको छ, त्यसलाई छिटोछरितो ढंगमा काम गर्नुपर्छ,’ मन्त्री भुसालले भनिन्, ‘यसलाई वस्तुगत र वैज्ञानिक बनाउनुपर्छ।’
निजीक्षेत्रका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताउँदै उनले भनिन्, ‘म यहाँहरूको समस्या समाधानप्रति अधिकतम सकारात्मक हुन्छु। त्यसमा म प्रतिबद्ध छु, पहल पनि गर्छु।’ उत्पादन र वितरणको ठूलो समस्या रहेको औंल्याउँदै उनले प्राधिकरणले करोडौं क्षतिपूर्ति तिरिरहने र लगानीकर्ताले लगानीको ब्याजसम्म उठाउन नसक्ने समस्या आउन नहुने बताइन्।
विद्युत् खपत बढाउनेतर्फ मन्त्रालयले गृहकार्य गरिरहेको समेत मन्त्री भुसालले बताइन्। विद्युतको पहुँच नपुगेका जनतामा विद्युत् पुर्याउन र खपत बढाउन विद्युत् महसुल घटाउने योजना ल्याउन लागेको उनले जानकारी दिइन्।
भेटका अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले मन्त्रालयले सबै निजीक्षेत्रलाई समान तवरले व्यवहार गर्ने स्पष्ट गर्दै मन्त्रालयबाट भएका निर्णयहरूको कार्यान्वयन विशेष ध्यान दिने बताए।
इप्पानका अध्यक्ष कृष्ण आचार्यले ऊर्जामा निजीक्षेत्रले काम गर्न सात मन्त्रालय र २३ विभागमा पुग्नुपर्ने बाध्यता रहेको भन्दै एकद्वार नीतिमार्फत सेवा लिने व्यवस्था मिलाउन अनुरोध गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।