काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको भेटका अवसरमा उनले उक्त धारणा राखेका हुन्। 'साना उद्योगको संख्या कति छ? अवस्था के छ र समस्या के छ? बजारको अवस्था के हो? उत्पादनको अवस्था के छ? सबै कुराको अध्ययन गरेर के-के गर्न सकिन्छ छलफल गरौं,’ उनले भने।
आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकीकरण नै मुख्य आधार भएको उनले बताए। देशभर साना तथा मझौला उद्योगहरुको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगहरुको विकास गर्न सकिने उनको भनाइ थियो। त्यसका लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्ने उनले प्रतिबद्धता जनाए।
साना उद्योगको विकासको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न सकिने भन्दै उनले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्ने नै सरकारको प्रयास रहेको बताए। 'हामी ठूला उद्योगभन्दा साना उद्योगको विकास र संवर्द्धनका लागि लाग्छौं। हाम्रो अर्थतन्त्रको मूला आधार लघु, घरेलु तथा साना उद्योग नै हुन भन्ने कुरालाई बुझेका छौं,' उनले भने।
मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताउँदै उनले आमनागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि मूल तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने ती उद्यमको दीगो सञ्चालन आफ्नो प्राथमिकतामा रहेको बताए।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार भनेको उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने रोजगारीमार्फतको औद्योगिकीकरण भएको बताए। साना उद्योगहरुका कार्यथलो वातावरणमैत्री र उत्पादन प्रणालीको दृष्टिले प्रभावकारी हुन नसक्दा यस्ता उद्योगहरु प्रतिष्पर्धी हुन नसकेको उनले बताए। 'अहिलेको तथ्यांकअनुसार देशभरमा झण्डै पाँच लाख उद्योग दर्ता भएका र तीमध्ये दुई लाख ५० हजार नियमित नवीकरण भई सञ्चालनमा रहेको देखिन्छ। त्यसैले यस्ता साना उद्योगहरुलाई वैज्ञानिक ढंगले परिमार्जित गर्दै तिनिहरुको उत्पादकत्व वृद्धि गराउने र उत्पादनको गुणस्तर र परिमाण वृद्धि गरी प्रतिष्पर्धी बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ढिला नगरी काम थाल्नु आजको प्रमुख आवश्यकता हो,’ उनले भने।
त्यसक्रममा महासंघको प्रतिनिमण्डलले आफ्ना मागहरु अर्थमन्त्रीसमक्ष राखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।