महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा एक अर्ब ५० करोड रूपैयाँको लागतमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ। नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालिको आज आईएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले शिलान्याश गरेका हुन्।
उद्योगमा अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको लगानी रहेको छ। उनीहरूले आज संयुक्त रुपमा उद्योग स्थापनाको शिलान्याश गरेका हुन्।
आईएमई समूहद्वारा प्रवर्द्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ। उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम सुरु गरिने जनाइएको छ।
उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन गर्ने क्षमता रहने जानकारी पनि सो अवसरमा दिइयो। उद्योग सञ्चालनमा आएलगत्तै कम्तीमा १०० जनाले तत्काल रोजगार पाउने बताइएको छ।
सो समारोहमा उद्यमी ढकालले एक वर्षमा कारखाना भवन निर्माण भएसँगै उत्पादन थालिने जानकारी दिए। नेपालमा कागज उत्पादनको क्षेत्रमा काम गरिरहेका वरिष्ठ र अनुभवी व्यवसायीहरूको संलग्नतामा सञ्चालन हुने यस कारखानाबाट नेपालमा हुने कागजको आयातलाई प्रतिस्थापन गरिने बताए।
नेपालमा ‘फिनिक्स प्रडक्ट’ नै दिने यस्तो खालको उद्योग पहिलोपटक स्थापना हुन लागेको हो। यसबाट नेपालमा अहिलेसम्म हुने गरेको कागजको आयातलाई प्रतिस्थापन हुने अपेक्षा गरिएको छ।
आफ्नो ठाउँमा नयाँ उद्योग स्थापना हुन लागेकामा रामनगरबासी उत्साहित देखिएका छन्। रामनगरमा यसअघिदेखि नै एभरेस्ट सुगर एण्ड केमिकल इण्ड्रष्ट्रिज सञ्चालनमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।