काठमाडाैं– जनता समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले आफूहरुले कुनै पनि गल्ती नगरेकाले आत्मालोचना गर्नुपर्ने आवश्यकता नभएको टिप्पणी गरेका छन्। निर्वाचन आयोगमा सनाखत गर्न पुगेका उनले उपेन्द्र यादव र महन्थ ठाकुरले आफूहरुले गरेको काम वैधानिक भएको दाबी मात्र गरेकाले विभाजनको कुनै पनि कुरा नभएको बताए।
आयोगले गर्ने निर्णयका आधारमा जसपामै बस्ने कि अलग पार्टी निर्माण गर्ने भन्ने बारेमा निर्णय हुने समेत उनले बताए। ‘पार्टीमा दुईवटा विचार आयो। कार्यकारिणी आधिकारिक भएपछि सनाखत नै आवश्यकता थिएन। किन गराइयो अचम्म लागिरहेको छ,’ उनले भने, ‘अहिले सर्वोच्चको फैसलादेखि आयोगको फैसलासम्म अचम्मलाग्दो भइरहेको छ।’
निर्वाचन आयोग र सर्वोच्चको फैसला मान्य हुन्छ भन्दै उनले कसैको पनि पार्टी विभाजनको माग नभएको दाबी गरे। ‘हाम्रो माग महन्थ ठाकुरले कार्यकारिणी विस्तार गरेको ठीक भन्नुभएको थियो। आफूले कारबाही गरेको ठीक भन्ने दाबी उपेन्द्र यादवको थियो,’ उनले भने, ‘यो अहिले आएर जे सनाखत भएको छ यो निष्ठाको सनाखतको रुपमा लिएका छौं। भोलि इतिहासले यसको मूल्यांकन गर्नेछ।’
केही साथीहरुले रातारात कित्ता परिवर्तन गरेको उनले दाबी गरे। ‘हामीले अर्को पार्टी खोजेको पनि होइन र विभाजन गरेका पनि हैनौं। निर्वाचन आयोगले के निर्णय गर्छ पनि हामी त्यसपछि निर्णय गर्छौं,’ उनले भने।
‘हिजो उपेन्द्र यादवको अनुहार हेरेर पार्टी एकता गरेको हैन,’ उनले भने, ‘मधेश आन्दोलनलाई एक ठाउँमा ल्याउन एकसाथ भएको हो। हामीले उपेन्द्र यादवको रेस्क्यु गरेका हौं।’ सत्तासँग हिजो पनि माग र मुद्दामा समर्थन गरेको र अहिले पनि यसैमा समर्थन गरेको उनले बताए। उनले कुनै पनि आत्मग्लानी नभएको पनि बताए।
अहिले विभाजनको कुरा नभएकमो आयोगमा दुवै पक्षले राजनीतिक दल सम्वन्धी ऐनको ४३ र ४४ को मात्र कुरा आएको भन्दै उनले यो विभाजनका लागि नभएको दाबी गरे। जसपालाई आफूहरुले वैकल्पिक शक्ति बनाउन खोजेको भन्दै उनले यसको मूल्यांकन जनता र इतिहासले गर्ने उनले दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।