काठमाडौं- जसपाका कार्यकारिणी सदस्य तथा सांसद् मोहम्मद इश्तियाक राईले आफ्नो पक्षमा ३३ देखि ३४ जना रहेको बताएका छन्। यतिबेला निर्वाचन आयोगमा पक्षधरता छुट्याउन 'हेड काउन्ट' जारी छ। त्यसै क्रममा उनले प्रतिक्रिया दिँदै सो आँकडा बताएका हुन्।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य छन्। उपेन्द्र यादव र महन्थ ठाकुर जतातिर बहुमत पुग्छ, उसैले पार्टीको आधिकारिता पाउनेछ। आयोगले आजै फैसला सुनाउने बताएको छ।
पार्टीमा द्वैधसत्ता उत्पन्न भएपछि यादव पक्षले निर्वाचन आयोगमा आधिकारिताको लागि निवेदन दिएको थियो। आयोगले गरेको छलफलमा दुवै पक्षले मिल्न नसकिने भनेपछि उसले हेड काउन्टमार्फत निर्णय लिन लागेको हो।
राईले विगतका विभिन्न संघर्षहरुबाट प्राप्त संविधान र त्यसबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्नका लागि आफ्नो पार्टीका केही व्यक्तिहरु केपी ओली नेतृत्वको सरकारका मतियार बनेको बताए। 'उहाँहरुले यो व्यवस्थामाथि नै प्रहार गर्न खोज्नुभयो। यो संविधानलाई नै समाप्त पार्ने दुष्प्रयास गर्नुभयो। त्यसका विरुद्धमा हामीहरु उभियौं। प्रतिगमनलाई परास्त गर्नुपर्छ भनेर हामी लाग्यौं,' उनले भने, 'आज सच्याइको बाटोमा बिस्तारै संख्या बढ्दै गएको छ। यो व्यवस्थालाई समाप्त गर्न खोज्ने केही बाहिरिनुहुन्छ। बाँकी पार्टी एक ठाउँमा हुन्छ।'
उनले आयोगको फैसलापछि सरकारमा जाने प्रक्रिया सुरु हुने बताए। 'एकदुई दिनभित्रै पार्टीको बैठक बसेर हामी टुंगो लगाउँछौं,' उनले भने, 'सरकारमा जान आजै सम्भव छैन। तर एकदुई दिन भित्रै हामी सरकारमा सामेल हुन्छौं।'
यादव पक्ष शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन केही महिनायता नै प्रयासरत थियो। राष्ट्रपतिलाई हस्ताक्षर बुझाउनेदेखि अदालतमा रिट दिन समेत यो पक्ष देउवासँगै उभिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।