काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले ‘हेड काउन्ट’रोक्न आग्रह गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरेको छ।
सोमबार बिहान ठाकुर पक्षले आयोग पुगेर ‘हेड काउन्ट’रोक्न माग गर्दै पत्र दर्ता गराएको उक्त पक्षका नेता केशव झाले जानकारी दिए।
तर निर्वाचन आयोगले भने पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाइसकिएको भन्दै त्यसलाई रोक्न अस्वीरकार गरेको झाले जानकारी दिए।
'सर्वोच्चको आदेश बमोजिम ‘हेड काउन्ट’रोक्न माग गर्दै पत्र दर्ता गरेपनि आयोगले रोक्न मिल्दने भन्यो' झाले भने।
यसैबीच अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरु भने सनाखतका लागि निर्वाचन आउने क्रम सुरु भएको छ।
निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिताबारे निर्णय गर्दैछ। आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई उपस्थित हुन भनेको छ।
आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्दै छ। यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ। उनीहरु त्यहीबाट आयोगको कार्यालय आउन सुरु गरेका छन्।
यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरे पनि गोदावरीमा भने ३१ जना कार्यकारिणी सदस्य र सांसदको रुपमा २१ जनाको उपस्थिति रहेको जनाइएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ। जसपा २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सत्ता साझेदारी गर्दा जसपा दुई समूहमा विभाजन भएको थियो। ठाकुर पक्ष सरकारमा सहभागी भएको थियो भने यादव पक्ष प्रतिपक्षमा उभिएको थियो ।
दुवै पक्षले पार्टी आधिकारिकताका लागि दाबी गर्दै आयोगमा गएका थिए। पछिल्लो पटक वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा दुवै पक्षले पक्षमा मतदान गर्ने निर्णय गरेका थिए। यादव पक्षले सरकारमा सहभागिता जनाउने निश्चित भइसकेको छ।
यसैबीच आयोगको निर्णयअघि अध्यक्ष ठाकुरले आधिकारिकता र पार्टी विभाजन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि आइतबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बलाउने आदेश दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।