काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवपक्षको बैठक सुरु भएको छ। गोदावरी भिलेज रिसोर्टमा सोमबार बिहान बैठक सुरु भएको हो।
कार्यकारिणी सदस्य र सांसदहरुको बैठक सुरु भएको उक्तपक्षका नेता मोहम्द इस्तियाक राईले नेपाल लाइभलाई जानकारी दिए।
उक्त बैठक सकिएपछि त्यहीबाट सिधैं साढे १० बजे निर्वाचन आयोग निस्कने कार्यक्रम रहेको उनले जानकारी दिए।
निर्वाचन आयोगले सोमबार जसपाको आधिकारिताबारे निर्णय गर्दै छ। आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई उपस्थित हुन भनेको छ।
आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी पार्टी आधिकारितासम्बन्धी निर्णय गर्दै छ। यादव पक्षले आइतबारदेखि नै आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ। संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईलगायतले प्रशिक्षण दिएका छन्।
यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरे पनि गोदावरीमा भने ३१ जना कार्यकारिणी सदस्य र सांसदको रुपमा २१ जनाको उपस्थिति रहेको जनाइएको छ।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ। संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ। यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।