काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री नियुक्त गर्दा कार्यदलको सुझाव नलिएको माओवादी नेता देव गुरुङले बताएका छन्।
यसअघि सरकारको कामकारबाहीमा सघाउने भन्दै ६ सदस्यीय कार्यदल बनाइएको थियो। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन्।
सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमा सुझाव दिने उद्देश्यले कार्यदल गठन गरिएको हो।
प्रधानमन्त्रीले हिजो स्वस्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेसँगै विदाद सुरु भएको छ। ‘मन्त्री नियुक्तिको अधिकार त प्रधानमन्त्रीकै हो,’ गुरुङले भने, ‘आवश्यक देखे प्रधानमन्त्रीले परामर्श लिनुहोला।’
पात्र छनोट प्रधानमन्त्रीले गरेपनि मापदण्डको विषयमा कार्यदलसँग कुरा हुनुपर्ने उनको भनाइ छ। समस्या परेमात्र कार्यदलको सुझाव लिने होला भन्दै उनले भने, ‘समस्या नभए त कार्यदलको परामर्श किन लिनु हुन्थ्यो र?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।