काठमाडौं– निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालको को आधिकारिकता विवाद टुंग्याउने भएको छ। यसका लागि आयोगले जसपाका दुवै पक्षलाई नागरिकतासहित ११ बजे बोलाएको छ। आयोग जानुपूर्वको आन्तरिक तयारीका लागि जसपाको दुवै पक्षको बैठक बस्दै छ।
आयोगले जसपाका कार्यकारिणी समितिको ‘हेड काउन्ट’ गरेर बहुमतका आधारमा आधिकारिकता विवाद टुंग्याउँदै छ।
पार्टीभित्र विवाद बढेपछि जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले आफू आधिकारिक रहेको दाबी गर्दै समानन्तर ढंगले पार्टी सञ्चालन गर्दै आएका छन्।
निर्णयको सम्भावित परिदृश्यसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूहले छुट्टाछुट्टै बैठक राखी रणनीति तय गर्नमा जुटेका हुन्।
यादव पक्षले आफूनिकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई आइतबारदेखि नै गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ। आज पनि बिहान बैठक बस्ने र उतैबाट आयोग जाने उक्त पक्षको तयारी छ।
यता महन्थपक्षले पनि आइतबार आफ्नो पक्षको बैठक राखेको थियो। आज पनि आयोग जानुपूर्व बैठकमा बस्दै छ। बैठकमा आयोगको सम्भावित निर्णय तथा त्यसपछिको रणनीतिबारे छलफल हुने एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।