काठमाडौं– शनिबार मध्यराती भएको एसपी र डिएसपी बढुवा सिफारिसलाई लिएर नेपाल प्रहरीमा असन्तुष्टि चुलिएको छ। इमान्दार र क्षमतावान प्रहरी अधिकृतलाई पाखा लगाएर नेता निकट प्रहरीलाई बढुवा गरिएको आरोप प्रहरी नेतृत्वमाथि छ।
बढुवा समितिले फिल्डमा काम गरेका भन्दा नेताका पिएसओका रुपमा काम गरेका प्रहरीलाई अग्रस्थानमा राखेर बढुवा सिफारिस गरेको छ। एसपी बढुवामा प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत सानुराम भट्टराईलाई चौथो नम्बरमा बढुवा गरिएको छ। पहिलो नम्बरमा रहेका अच्युत पुडासैनी, प्रताप गुरुङ र विश्व अधिकारी छन्। उनीहरुमध्ये पुडासैनी र गुरुङ आगामी कात्तिकमा अवकाश पाउँदैछन्।
डिएसपी बढुवामा एक नम्बरमा रहेका गंगा पन्त १५ नम्बरमा पुगेकी छिन्। सो ब्याचका रमेश बस्नेत लगायत केही क्षमतावान अधिकृत बढुवामा छुटेका छन्। अहिलेको शक्तिशाली नेताहरुको सिफारिसमा परेका बाहेक अन्य प्रहरी अधिकारीहरु बढुवाा छुटेका छन्। ‘बढुवामा प्रहरी महानिरीक्षक यस्तो कमजोर कहिल्यै देखिएका थिएनन्,’ मुख्यालयका एक अधिकारी भन्छन्,‘प्रहरी राजनीतिक नेतृत्वको कठपुतली बन्ने जोखिम देखियो।’
इन्सपेक्टर बढुवामा पनि विगतमा वामदेव गौतमको पिएसओ बसेका मिम बहादुर लामा पहिलो नम्बरमा बढुवा भएका छन्। पहिला १ नम्बरमा रहेका रेवतीरमण पोखरेल ३५ नम्बरमा पुगेका छन्। दोस्रो नम्बरमा रहेकी दिप्ती कार्की नवौं तथा तेस्रो नम्बरमा रोशन खड्कालाई ५० औं नम्बरमा राखेर बढुवा गरिएको छ। संगठनको भावी नेतृत्व यही नम्बरको आधारलाई लिएर तय हुने भएकाले फौजी संगठनमा यसको ठूलो महत्व हुन्छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राम्रा अधिकृतहरुको पक्षमा अडान लिन नसक्दा बढुवामा राजनीतिक नेतृत्व हावी भएको हो। यसले राम्रा प्रहरी अधिकृतहरु पछि पर्ने र खराब अधिकृतहरु अघि बढ्ने जोखिम बढेको छ। प्रहरीमा सुधारका लागि चर्का भाषण गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि राम्रा भन्द ‘हाम्रा’ प्रहरी अधिकारीलाई बढुवा गर्न दबाब दिएको प्रहरी मुख्यालय स्रोत बताउँछ।
कसरी हुन्छ बढुवामा चलखेल ?
प्रहरी नियमावली २०७१ ले कार्यसम्पादन मूल्याङकनलाई बढुवाको आधार बनाएको छ। तर, नियमावलीले बढुवामा चलखेल गर्ने आधार पनि दिएको छ।
एक सय नम्बरमध्ये ४० नम्बर कार्यसम्पादन मूल्याङकन, २० नम्बर जेष्ठता, ८ नम्बर भौगोलिक क्षेत्रमा काम गरेको अनभुव, १० नम्बर शैक्षिक योग्यता, साढे सात नम्बर शैक्षिक योग्यता तथा २ नम्बर सरकारको बिभूषणको आधारमा दिइन्छ। जून नम्बरमा खासै चलखेल हुँदैन।
बाँकी साढे १२ नम्बरमध्ये ७.५नम्बर दिने अधिकार बढुवा सिफारिस समितिलाई हुन्छ भने ५ नम्बर चुनौतीपूर्ण काम गरेवापत भनेर प्रहरी महानिरीक्षकले दिन्छन्। यही १२.५ नम्बरमा चलखेल हुने गरेको छ।
मुख्यालयका एक अधिकारीका अनुसार सुरुमा बढुवा हुनेहरुको सूची बनाएर त्यसपछि नम्बर मिलाउने विकृती रहँदै आएको छ।
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका २८ डिएसपीको एसपी बढुवामा सिफारिस (सूची)
५५ इन्सपेक्टरको डिएसपी बढुवामा सिफारिस (सूचीसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।