काठमाडौं– सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने जिकिर गर्दै दायर गरेको रिटमा दुई न्यायाधीशको राय बाझिएको छ। न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको राय बाझिँदा यो विषयको विवादलाई अब पूर्ण इजलासले निरुपण गर्नुपर्ने भएको छ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनले सामाजिक सुरक्षा कोषविरुद्ध दायर गरेको रिटमाथि सुनुवाई गर्दा न्यायाधीशहरुको राय बाझिएको हो।
सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थाका कम्पनीहरूले उठान गर्दै आएको विषयलाई वेवास्ता गरी एकोहोरो र अस्वभाविक दबाब दिँदा वित्तीय क्षेत्रमा आतंक सिर्जना भएको भन्दै कर्मचारी यूनियनहरू अदालत पुगेका थिए। बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले पनि उक्त कोषमा सहभागी हुन इन्कार गर्दै आएका थिए।
असार २० गते दायर भएको रिटमाथि प्रारम्भकि सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको असार २२ गतेको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।
त्यसपछि आइतबार भएको सुनुवाईमा न्यायाधीशहरु केसी र श्रेष्ठबीच अन्तरिम आदेश जारी हुने र नहुने विषयमा मत बाझिएको हो।
न्यायाधीश केसीले सामाजिक सुरक्षा कोषमा सहभागी हुर्नैपर्ने भनेर अनिवार्य गराउन नमिल्ने भन्दै अन्तरिम आदेश जारी गर्ने राय व्यक्त गरेका छन्। न्यायाधीश श्रेष्ठले भने अन्तरिम जारी नहुने राय व्यक्त गरे।
बैंक तथा वित्तीय संस्थाका कर्मचारी र कर्मचारीका युनियनहरुले सामाजिक सुरक्षा कोषमा अहिलेकै व्यवस्थामा योगदान गर्न नसकिने बताउँदै आएका छन्। कर्मचारीको मनोबलमा समेत ह्रास आएको कारण समग्र वित्तीय क्षेत्रमा नकारात्मक असर परेको भन्दै आफूहरुले प्रदान गरेका सुझावका आधारमा ऐन, नियमावली र कार्यविधिमा संशोधन गर्न कर्मचारी युनियन र कर्मचारीहरुले आग्रह गर्दै आएका थिए।
रिट निवेदनमा बैंकिङ क्षेत्रको हकमा श्रम ऐन, २०७४ लागू हुनुभन्दा पूर्वदेखि नै वहालमा रहेको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १३३ (१) ले प्रत्यायोजन गरेको अधिकार प्रयोग गरी सोही आधारमा बैंकहरूले बैकमा कार्यरत कर्मचारीको नियुक्ति, सेवाका शर्तहरू, प्राप्त गर्ने सुविधाहरूको बिषयमा कर्मचारी सेवा विनियमावली तर्जुमा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिइ लागू गरी सोही विनियमावली बमोजिम नियुक्ति, अवकाश, अवकाशपछि प्राप्त हुने विभिन्न सुविधाको व्यवस्थापन गरिएको उल्लेख गर्दै कोषमा गरिएको योगदानबाट उचित प्रतिफल प्राप्त नहुने भएकाले त्यसमा सहभागीतालाई स्वेच्छिक गर्न आवश्यक आदेशको मागदाबी गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।