काठमाडौं– नेकपा एमालेका सांसद्हरुले पार्टीभित्र एकता अभियान सुरु गरेका छन्। आइतबार एमालेका केपी शर्मा ओली र माधव कुमार नेपाल पक्षका सांसदरुले सिंहदरबारमा जम्मा भएर एकता अभियान सुरु गरेका हुन्। आइतबारको बैठकमा दुवै पक्षका २७ सांसद्हरुका साथै विघटित कार्यदलका ९ सदस्यहरुको उपस्थिति थियो।
अध्यक्ष ओली पक्षबाट कृष्णप्रसाद दाहाल र वरिष्ठ नेता नेपाल पक्षबाट यज्ञराज सुनारले नेतृत्व लिएका हुन्। बैठकमा दाहालले साझा धारणा वाचन गरेर सुनाएका थिए। १० बुँदेलाई इमानदारीका साथ पालना गर्दा पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा आफूहरुको साझा बुझाइ रहेको उनको भनाइ थियो। 'कार्यदलद्वारा पारित १० बुँदे सहमति कार्यान्वयनको दिशामा अगाडि बढिरहेको सन्दर्भमा १० बुँदे सहमतिको भावना विपरीत कुनै पनि पक्षबाट भइरहेका र हुनसक्ने तिक्ततापूर्ण गतिविधि रोक्न र यस्ता गतिविधिमा नलाग्न हामी सम्पूर्ण नेता तथा कार्यकर्ता पंक्तिलाई हार्दिक आह्वान गर्दछौं', साझा धारणामा भनिएको छ।


नेकपा एमालेमा देखापरेको असहज र असामान्य परिस्थिति र विवादका कारण मुलुकमा राजनीतिक अस्थिरता बढ्ने, मुलुकको अग्रगति र एकता कमजोर हुने र समृद्ध नेपाल सुखी नेपालीको यात्रा अवरुद्ध हुने खतरा रहेको उनीहरुको बुझाइ छ। 'समग्रमा नेकपा एमालेको नेतृत्वमा जारी रहेको नेपाली समाजको सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको प्रक्रियामा गम्भीर धक्का लाग्ने भएको हुँदा नेपाली जनता र मुलुकप्रतिको जिम्मेवारीलाई गम्भीरतापूर्वक बोध गर्दै पार्टीभित्र देखिएको आन्तरिक समस्यालाई समाधान गर्दै पार्टी एकतालाई सुदृढ गर्न १० बुँदे सहमतिलाई अविलम्ब प्रभावकारी ढंगबाट कार्यान्वयन गराउन सार्थक पहल लिनुहुनका लागि कार्यदलका सदस्यहरुलाई अनुरोध गर्दछौं', सो साझा धारणामा भनिएको छ।
उनीहरुले पार्टीको आन्तरिक विवाद समाधान भई पार्टी एकताबद्ध हुने कुराप्रति आशावादी भएर संयमता र धैर्यता अपनाई पार्टीको आन्तरिक एकता सुदृढ गर्नका लागि सकारात्मक योगदान गर्न सम्पूर्ण पार्टी पंक्तिलाई अपिल पनि गरेका छन्।
त्यसपछि विघटित कार्यदलका दुवै तर्फको नेतृत्वको धारणा मागिएको थियो। कार्यदलको तर्फबाट एकता अभियानप्रति ऐक्यबद्धता जनाइएको छ। कार्यदलको नेतृत्वमा रहेका सुवास नेम्वाङ र भीम रावलले १० बुँदे प्रस्ताव तयार गर्न सम्मिलित दुवै पक्ष सहमत रहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।