काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सबैभन्दा बढी जनसंख्या आफ्नो साथमा रहेको बताएका छन्। आइतबार अखिल नेपाल महिला संघको सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै उनले एमाले परिपक्व राजनीतिक पार्टी भएको दाबी गरे।
उनले नाम नलिइ एक लेखकले 'केपी ओलीका सुन्डमुसन्डहरुले घर अगाडि आएर चाख्लास्, पख्लास्' भने रे भन्दै त्यस्तो अफवाह र वाहियात कुरा नगर्न सचेत गराए। 'केपी ओलीको साथमा रहेको कुनै दुईचार जनाको झुन्ड होइन। देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ। देशको सबैभन्दा बढी जनसंख्या केपी ओलीको साथमा छ। अनि एउटा दुईटा कसले कविता न सविताका कविता भनेर लेख्छ, त्यसका पछाडि नेकपा एमाले कुद्छ? नेकपा एमाले कुनै गुण्डा दल होइन। एउटा परिपक्व राजनीतिक पार्टी हो।'
उनले आफ्नो सरकार ढालेर माधव नेपाल पक्ष देशमा प्रतिगमन गराउन सफल भएको बताए। 'अब देश धेरै अप्ठ्यारोमा परेको छ। यो प्रतिगमन सच्चिन सजिलो छैन। धेरै गम्भीर अवस्थामा प्रतिगमन गइसकेको छ। देश अप्ठ्यारो मोडमा पुगिसकेको छ', उनले भने।
उनले नेपाल पक्षतिर लाग्ने सांसद्हरुलाई क्षमा गर्ने भन्दै पार्टीमा फर्किन आग्रह गरे। 'केही व्यक्तिहरु आफ्ना स्वार्थका कारणले प्रतिक्रियावादीहरुको जालझेलको अंग बनेर, प्रतिक्रियावादीहरुसँग भित्री साँठगाँठ गरेर पार्टी ढाल्ने, सरकार ढाल्ने खेलमा सामेल भइरहेको हामी देखिरहेका छौं। प्रतिक्रियावादीहरुसँग मिलेर आफ्नो सरकार ढालेको हामी देखिरहेका छौं। आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौं। आफ्ना सांसद्हरुलाई झुक्याएर वा प्रलोभनमा पारेर मतदानबाट बाहिर लगेको हामी देखिरहेका छौं। हामी देखिरहेका छौं, कसरी उनीहरु राष्ट्रपतिकहाँ विरोधीका पछिपछि लागेर एमालेको सरकार ढाल्न विरोधीलाई बनाउन गइरहेका छन्, हामी देखिरहेका छौं। फेरि त्यस्ता तत्वहरुको पछि लागेर आन्दोलनको भविष्य कमजोर पार्ने र आफ्नो भविष्य ध्वस्त पार्ने काम किन गर्ने? त्यसकारण म अहिले पनि भन्न चाहन्छु, पार्टीले क्षमा गर्छ, साथीहरु गल्ती नगर्नुस्। पार्टीमा फर्किनुस्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।