काठमाडौं– वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले प्रदेशलाई बेस बनाएर पोखरा–नेपालगञ्जमा सिधा उडान गर्ने भएको छ।
कम्पनीले साउन १७ गते आइतवारदेखि सातामा ३ दिन गण्डकी प्रदेशको पोखरा र लुम्बिनी प्रदेशको नेपालगञ्जबीच सिधा उडान गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।
काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बेस बनाएर उडान गर्दै आएको कम्पनीले केही समयअघि प्रदेशस्तरमा उडान गर्ने योजना अघि सारेअनुसार पोखरा–नेपालगञ्जमा सिधा उडान गरिने जानकारी दिएको छ। बुद्ध एयरले साताको ३ दिन आइतवार, बुधवार र शुक्रवार यो रूटमा उडान गर्ने घोषणा गरेको छ।
उक्त सेवा विस्तारले दुवै शहरका जनता लाभान्वित हुने भन्दै कम्पनीले केही समयपछि यात्रुको मागअनुसार दैनिक उडान गर्ने योजना रहेको बताएको छ।
अन्तरप्रदेश उडानबाट दुवै शहरका पर्यटकीय गन्तव्यमा चहलपहल बढ्ने अपेक्षा गरिएको कम्पनीका बजार निर्देशक रूपेश जोशीले बताए।
नेपालगञ्जबाट केही घण्टाको दूरीमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णालीको चिसापानी जस्ता पर्यटकीय स्थलमा पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उनको भनाइ छ।
पोखराको पर्यटकीय क्षेत्रका साथै हिमाल हेर्न नेपालगञ्जबाट आन्तरिक तथा भारतीय पर्यटक समेत आउन सक्ने कम्पनीले बताएको छ। नेपालगञ्ज नजिक रहेका भारतीय शहरहरू लखनउ, कानपुर आदि गन्तव्यका पर्यटक आकर्षित हुने कम्पनीको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।