काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले टोकियो ओलम्पिक २०२० मा सहभागी खेलाडीहरुलाई शुभकामना दिएका छन्।
शनिबार दिउँसो उनले सामाजिक सञ्जालमार्फत् सहभागी ५ खेलाडीलाई शुभकामना दिएका हुन्।
‘टोकियोमा भइरहेको ३२औं ओलम्पिकमा सहभागी नेपाली खेलाडीलाई मेरो व्यक्तिगत र सिंगो देशको तर्फबाट शुभेच्छा तथा शुभकामना व्यक्त गर्दछु। गो अन नेपाल,’ उनले लेखेका छन्।
उनले शुभकामना दिनुभन्दा अगाडि नै ओलम्पिकमा सहभागी दुई खेलाडी भने प्रतियोगिताबाट बाहिरिसकेका छन्।
बिहान भएकाे १० मिटर एयर राइफलमा प्रतिस्पर्धा सुटिङकी कल्पना परियार बाहिरिएकी थिइन्। उनी कुल ५० प्रतिस्पर्धीमध्ये ४६औं स्थानमा सिमित भएकी थिइन्।
यस्तै, नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा पराजित भएकी छिन्। महिला ४८ केजी तौल समूहमा सोनिया र रसियाका इरिना डोल्गोभाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो।
जसमा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन्। विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो चरणमामै पराजित गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।