काठमाडौं- टोकियो ओलम्पिकअन्तर्गत नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा पराजित भएकी छिन्।
शनिबार विहान महिला ४८ केजी तौल समूहमा सोनिया र रसियाका इरिना डोल्गोभाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो।
जसमा सोनिया १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धामा रहेकी थिइन्। विश्व वरीयताको नवौं स्थानमा रहेकी इरिनाले इप्पोनको आधारमा सोनियलाई पहिलो चरणमामै पराजित गरिन्।
अब इरिनाले फाइनलमा स्थान बनाए सोनियाले रेपेचेजमार्फत पुन: प्रतिस्पर्धा गर्न पाउनेछिन्। दोस्रो चरणको खेल आज नै हुनेछ ।
रसिया डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको कारण इरिनाले आफ्नो देशको झण्डाविना खेलिन्। रसियाका खेलाडीहरू ओलम्पिकको झण्डबाट ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन्।
सोनिया वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन्।
सोनिया २०७६ मा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा महिला ४८ केजीमुनि कास्य जितेकी थिइन्।
सन् २०१९ मा मोरक्कोमा भएको विश्व जुडो च्याम्पियनसिपमा उनले ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास बनाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।