काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिस्टबीच वैचारिक, चरित्रगत तथा नीतिगत कार्यशैलीमा भिन्नता नरहेको बताएका छन्। कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपा मात्र हुनसक्ने उनको भनाइ छ।
आज काठमाडाैं क्षेत्र नं. ५ (क) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले १४ वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको बताए। उनले मुलुकमा व्याप्त विकृति, विसंगति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाइ राप्रपा हुनुपर्ने बताए।
अध्यक्ष थापाले धर्मनिरपेक्षताको आडमा संगठित र योजनाबद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको बताउँदै प्रमुख नेताहरुको अकर्मण्यताले विदेशी चलखेल बढेको दाबी गरे।
नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाले आरोप लगाए।
पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीव्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनताको सुखदु:खमा उच्च प्राथमिकता साथ काम गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।