काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको कार्यकारिणी समितिको बैठक बसिरहेको छ।
दिउँसो साढे १२ बजेदेखि केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठकमा विभिन्न पाँच अजेण्डमा छलफल भइरहेको नेता मोहम्मद ईश्तियाक राईले बताए।
समसामयिक राजनीति, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन, प्रशिक्षण अभिमुखिकरण तथा अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख़्तियारी दिने सम्बन्धमा बैठकमा छलफल चलिरहेको उनले बताए।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले जसपाको विवाद टुंग्याउन हेड काउन्ट गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा चुनाैती दिएपछि उपेन्द्र-बाबुराम पक्ष छ्लफलमा जुटेका हुन्।
निर्वाचन आयोगले जसपा विवादमा केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयत्र पत्रको प्रतिलिपिसहित साउन ११ गते आयोगमा उपस्थित हुन आदेश गरेको छ। जसविरुद्ध महन्थ-राजेन्द्र पक्षले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन्।
जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा ३२ जना उपेन्द्र-बाबुराम पक्षमा रहेको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।