काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले बजेट निर्माणमा कसैलाई पनि भेदभाव नगरेको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बजेटमाथि सांसदहरुको धारणापछि जवाफ दिँदै अर्थमन्त्री खतिवडाले संघियतासहितको बजेट पहिलो पटक आएकाले विगतका आर्थिक वर्षसँग तुलना नगर्न उनले आग्रह गरे।
‘देश संघीयतामा गएको कुरा सबैलाई जानकारीमै छ’, अर्थमन्त्री खतिवडाले भने, ‘सुन्तता र स्याउको तुलना हुँदैन।’
अर्थमन्त्रीले एक-आपसमा आरोप-प्रत्यारोप बन्द गरेर बजेट कार्यान्वयनतिर लाग्न आग्रह गरे।
‘हामी लामो दौडमा छौं, ५ सय मिटर दगुर्दैमा निष्कर्ष ननिकालौं’, खतिवडाले भने, ‘हेर्दै जाऔं, लामो दौडमा हामी जित्छौं, बजेट सर्वाङ्गीण विकासमा केन्द्रित छ।’
प्रदेशहरुबीच विभेद भएको कुरा सत्य नभएको भन्दै उनले कुनै पनि क्षेत्रलाई विभेद नगरिएको बताए। वित्तिय आयोगका पदाधिकारीले दिएको सूत्रको आधारमा बजेट विभाजन भएकाले शंका नगर्न उनले आग्रह गरे। कसैले जितेको क्षेत्रको आधारमा बजेट विभाजन नभएको पनि अर्थमन्त्रीले जिकिर गरे।
अर्थमन्त्री खतिवडाले निर्वाचन क्षेत्र कार्यक्रममा अहिले धेरै असन्तुष्टि नराख्न पनि आग्रह गरे। कसैलाई पनि अपमान र अनादर गर्ने प्रयास नगरेको भन्दै उनले प्रदेश र स्थानीय तहमा निर्वाचितहरुलाई पनि आदर गर्नुपर्ने उनले बताए।
नागरिकलाई उत्पादनसँग जोड्नेगरी बजेट निर्माण भएको भन्दै खतिवडाले नागरिकका न्यूनतम आवश्यकता पूरा गरेर मात्र समृद्धितर्फ अघि बढ्ने बताए।
बजेट निर्माणका क्रममा कसैले माथि उचाल्ने र कसैले तल खसाल्ने गरेको भए पनि आफू स्थिर भएर बजेट निर्माणमा लागेको भन्दै अर्थमन्त्री खतिवडाले कार्यान्वयनमा पनि त्यसैगरी अगाडि बढ्ने बताए। ‘कतिपयले यो बजेटलाई महत्वाकांक्षी, केन्द्रमुखी, संघीयता विपरीत भएको आरोप लगाउनुभएको छ’, खतिवडाले भने, ‘२०७४/०७५ मा त एउटा सरकार थियो, अहिले कति धेरै सरकार छन्।’
अर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा विकृति नआउनेगरी कर लगाउने बजेटको नीति भएको बताए। संघीयता खर्चिलो व्यवस्था भएकाले बजेटको आकार ठूलो भएको कुरामा सरकारको आलोचना गर्न नहुने भन्दै उनले बचाउ गरे। संविधानमा भनिएको आधारमा सरकारले काम गर्ने भएकाले यसमा शंका नगर्न पनि उनले आग्रह गरे। सरकार, निजी क्षेत्र र सहकारीबीच सहकार्य हुने कुरा बजेटमा उल्लेख भएको भन्दै उनले आलोचना गर्न जरुरी नभएको बताए।
अर्थमन्त्री खतिवडाले जनप्रतिनिधिलाई अगाडि राखेर विकासमा अघि बढ्नुपर्ने संविधानको बाटो भएको भन्दै उनले सरकारले त्यही बाटोमा हिँडेर बजेट ल्याएको बताए। बजेट असीमित स्रोतको भण्डार नभई यो अंकगणितको नियम भएको अर्थमन्त्री खतिवडाले बताए।
‘गणितबिनाको बजेट चाहिँ हावादारी हुन्छ’, उनले भने, ‘संघको बजेट ठूलो पार्नुपर्ने तर राजस्व नउठाउने, ऋण तथा अनुदान नलिने भनी आलोचना गर्नु अनुपयुक्त हो।’
बजेट संघीयता केन्द्रित भएन भनी गरिएको आलोचना सही नभएको भन्दै उनले यो संक्रमणकालीन अवस्था भएकाले यसैगरी बुझ्नुपर्ने उनले बताए।
सबै ठाउँमा संयन्त्र पूरा नभई बजेट मात्र पठाएर काम नहुनेतर्फ सचेत हुँदै सरकारले सरकारले बिस्तारै रकम थप गर्नेगरी बजेट निर्माण भएको उनले बताए।
राजस्व परिचालनतर्फ प्रगतिशील कर अवलम्बन गरेकै बताउँदै उनले न्यून आय भएकाले १० प्रतिशत कर तिर्नुपर्ने उनले बताए।
‘धेरै मुलुकमा आयकर ५० प्रतिशत छ, त्यहाँ विकास भएकै छ, निजी क्षेत्रले पनि लगानी गरेकै छ’, उनले भने, ‘हामीले ऋण लिएर विकास गर्न थाल्यौ भने त्यसैको पासोमा पर्ने निश्चित छ।’
कम्युनिस्ट सरकारले विदेशी लगानी ल्याउन सक्दैन भनी चलाएको हल्ला गलत भएको भन्दै अर्थमन्त्री खतिवडाले थपे ‘एसियाका पूर्वीय मुलुकहरु चीन, भियतनाम र लासोसमा अहिले अन्तर्राष्ट्रिय कम्पनीहरुले काम गरिरहेकै छन्।’
प्रधानमन्त्री कार्यालयमा बजेट धेरै भयो भन्ने प्रश्न उठेकोप्रति उनले पुनर्निर्माण प्राधिकरण लगायत अन्यको बजेट समावेश भएको कुरा बुझिदिन उनले आग्रह गरे। प्राधिकरणको मात्र १ सय ५१ अर्ब रकम रहेको उनले जानकारी गराए।
‘महान्यायाधिवक्ता, सम्पत्ति शुद्धीकरण र अन्य निकायलाई बलियो बनाउने भनेका छौं, यसमा बजेट दिँदा आलोचना गर्नुको अर्थ छैन’, खतिवडाले भने।
उनले कृषिमा उत्पादन दोब्बर गर्ने नीति सरकारले कार्यान्वयन गर्ने उनले बताए।
‘आगामी वर्ष विद्युत्, खानेपानी, सिंचाइ र रोजगारीका कार्यक्रमले ८ प्रतिशत आर्थिक वृद्धि हुन्छ’, अर्थमन्त्री खतिवडाले भने ‘४ लाख रोजगारी अन्य र एक लाख प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत प्राप्त हुनेछ।’
उनले सुधार गर्नुपर्ने कुरामा भोलिका दिनमा गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।