विराटनगर– सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घले जेल चलान भएका छन्। आइतबार जिल्ला अदालत मोरङमा उनी आफैं उपस्थित भएका थिए। बयानपछि अदालतले उनलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
उनलाई प्रहरीले फरार अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो। घले यसअघि पक्राउ परेका भुजुङ गुरुङका आफन्त हुन्। अनुसन्धानको क्रममा उनी मुख्य लगानीकर्तामध्ये एक भएको बिशेष छानबिन समितिको दाबी छ।
अर्का लगानीकर्ता मोहन अग्रवालसँग उनको विवाद भएको थियो। सोही कारण उनले नै सुन लुटेको आशंका गरिएको छ। तर, बयानको क्रममा उनले आफुलाई सुन तस्करीबारे केही थाहा नभएको दाबी गरेका छन्। तर, सुन लुटेको भन्दै चुडामणि उप्रेती गोरेले धम्काएको बताउका छन्।
फरार रहेका निलम्बित एसएसपी श्याम खत्रीले गत बिहिबार आत्मसर्मपण गरेका थिए। उनलाई अदालतले पुर्पक्षका लागि जेल चलान गरिसकेको छ।
तस्करीमा संलग्न ३० जना जेल चलान भइसकेका छन्। जिल्ला अदालतमा उनको बयान सुरु भइसकेको छ।
सो समूहका चुडामणि उप्रेती ‘गोरे’ लगायतका व्यक्तिहरुले घलेले नै सुन लुटेको आंशका गरेका छन्। गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन पुरानो बानेश्वरबाट लुटिएको थियो। जुन सुन अहिलेसम्म भेटिएको छैन।
सोही सुन लुटेको आशंकामा सनम शाक्यको हत्या भएको थियो। शाक्य हत्याको अनुसन्धानमा भएको चलखेलको थप अनुसन्धान गर्ने क्रममा विगत ५ वर्षदेखि विमानस्थलबाट हुँदै आएको सुन तस्करीको रहस्य खुलेको हो। जसमा संलग्न २७ जना पक्राउ परिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।