काठमाडौं– ३८ सय किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्तमध्ये एक मानिएका डा डेविट भन्ने छिरिङ बाङ्गेल घलेले आफूले चुडामणी उप्रेती 'गोरे'लाई नचिनेको भन्दै आफूलाई उनीबाट एकपटक धम्की समेत आएको बयान दिएका छन्।
बयानको प्रश्न १५ को जवाफमा उनले आफूलाई हराएको सुनबारे गोरेले धम्की दिएको बताएका हुन्। गोरेसँग तपाईंको चिनजान देख-भेट छ कि छैन? भनी सोधिएको प्रश्नमा घलेले गोरेलाई चिन्न अस्वीकार गर्दै उनलाई आफूले हालसम्म प्रत्यक्ष नदेखेको जिकिर गरेका छन्।
जिल्ला अदालत मोरङमा आजै आत्मसर्मपण गरी घलेले बयान दिँदा सुन तस्करीमा मुख्य व्यक्ति भनी गोरेले दिएको बयान विपरीत उनले गोरेसँगको चिनजानलाई नै अस्वीकार गरेका हुन्। घलेले आफू हाइड्रो व्यापार र सेयर कारोबारी भएको र कुनै सुनको कारोबारमा संलग्न नभएको दाबी गरेका छन्।
जिल्ला अदालत मोरङमा आइतबार उपस्थित भएका घलेले आफूलाई फसाउन यस्तो प्रपञ्च रचिएको हुन सक्ने बयान दिए।
यसअघि बयान दिनेमध्ये धेरैजसोले घले नै प्रमुख व्यक्ति भएको बताउँदै आएको अवस्थामा उनको यस्तो बयान आएको हो। गोरेले पनि बयानमा भिनाजु मार्फत 'डेविट'ले सबै सुनको कारोबार मिलाउने गरेको बताएका थिए।
गोरेले सुन तस्करीमा एसएसपी श्याम खत्री र डा डेविट मुख्य व्यक्ति भएको बयान दिए पनि उनीहरु दुबै जनाले अस्वीकारी बयान दिएका छन्। खत्रीले भने गोरेलाई आफूले एक पटक गाली गरेर फर्काएको बयान दिएका थिए।
‘गोरे भन्ने चुडामणि उप्रेतीले आफू तथा आफ्ना समूहका मानिसलाई बचाउन त्यस्तो लेखाएको हुनुपर्छ, मेरो नाम छिरिङ वाङ्गेल गुरुङ हो, रजिष्ट्ररमा उल्लेखित मानिस अर्कै छिरिङ पनि हुन सक्छ, म होइन,’ अदालतमा दिएको बयानमा घलेले भनेका छन्, ‘म सुनको कारोबार नगर्ने मानिस भएको हुँदा मैले सुनको विषयमा कसैसँग सेटिङ मिलाउने वा कसैको घर भाडामा खोजेको कुरा नै आउँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।