काठमाडौं- आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा सत्ता पक्षका सांसदले आलोचनात्मक समर्थन गरेका छन् भने प्रतिपक्ष सांसदले बजेट कार्यान्वयनमा चुनौती हुने बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको अन्तिम दिनको छलफलमा बोल्ने सांसदले आगामी आर्थिक वर्षको बजेटले आर्थिक विकास, रोजगारी वृद्धि र सबल अर्थतन्त्रको आधार निर्माणका लागि आधार वर्ष तयार गरेको बताएका हुन्।
बजेटमा आएका कतिपय कार्यक्रम महत्वाकांक्षी भएको भन्दै उनीहरुले बजेटले अगाडि सारेका कतिपय कार्यक्रम कार्यान्वयनमा चुनौती भएको धारणा व्यक्त गरे।
सांसद कमला रोकाले आर्थिक समृद्धिका लागि सरकारले प्रस्तुत गरेको बजेट 8वाद उन्मुख रहेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताए। सांसद रामवीर मानन्धरले जनमतको कदर गर्दै बजेट आएकाले कार्यान्वयनका लागि सबै क्षेत्रको सकारात्मक सहयोगको जरुरी रहेको बताए।
सांसद गगन थापाले बजेट नीति तथा कार्यक्रमभन्दा सुधार र सावधानीपूर्ण तवरले आएको टिप्प्णी गर्दै भने, 'थैली हेरेर निर्धारण गरिएको बजेटमा स्पष्टता र मार्गदर्शनको अभाव देखिएको छ। कार्यान्वयनमा समस्या आउँछ।'
पूर्वाधारमा रकम छरिएकाले परिणाम दिनेमा शंका व्यक्त गर्दै उनले विभिन्न क्षेत्रमा कर बढाइँदा विदेशी लगानी भित्र्याउन समस्या हुनेमा जोड दिए। सांसद थापाले बजेटमा सिर्जनशीलता र स्पष्टताको अभाव समेत बजेटमा रहेको आरोप लगाए।
सांसद नवीना लामाले सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई कार्यान्वयन गर्ने गरी बजेट आएको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए।
सांसद प्रदीप गिरीले आत्मनिर्भर अर्थतन्त्र मुलुकलाई चाहिएको भन्दै वर्तमान सरकारले प्रस्तुत गरेका केही कार्यक्रम सकारात्मक भए पनि कार्यान्वयन पक्ष कस्तो हुन्छ भन्ने विषयबाट त्यसको प्रभावकारिताको मापन हुने बताए।
सांसद लीला श्रेष्ठले बजेटले आर्थिक समृद्धि र विकासका लागि मार्ग प्रशस्त गरेको भन्दै ऊर्जा, कृषि, हवाई क्षेत्रलाई प्राथमिकतामा राखेको उल्लेख गरे।
सांसद देवप्रसाद तिमिल्सिनाले निर्वाचनमा वाम गठबन्धनले गरेको प्रतिबद्धताअनुरुप बजेट नआएको भन्दै सरकारको आलोचना गरे।
सांसद पार्वता डिसीले संघीयताको मर्म र भावनाविपरीत बजेट आएको भन्दै कम्युनिष्ट सरकारले अल्पसंख्यक, आदिवासी, जनजाति, महिला, दलित कोही कसैलाई पनि नछोएको भन्दै आलोचना गरे।
सांसदहरु समिना हुसेन, अतहरकमाल मुसलमान, मोहन आचार्य, तुलसा थापा, रंगमती शाहीले बजेटले अगाडि बढाएका कार्यक्रम केही सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण भएको बताए।
देशका आर्थिक आधार तयार गर्नका लागि बजेट महत्वपूर्ण भएको भन्दै उनीहरुले बजेटले रोजगारीको सिर्जना र निर्यात प्रवद्र्धनमा जोड दिएको बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।