काठमाडौं– नेपाली कांंग्रेसका युवा नेता तथा सांसद गगन थापाले बजेटले नैराश्यता बढाएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बजेट माथिको धारणा राख्ने क्रममा थापाले भने, ‘बच्चा अनुतिर्ण हुन्छ भनेको अभिभावकलाई बच्चा उत्तिर्ण भएको अवस्थामा धेरै खुसी लाग्छ। तर, मेरो बच्चाले बोर्डफस्ट ल्याउँछ भन्दै गर्दा बच्चा पास मात्रै भयो भने अभिभावक खुसी हुँदैनन्।’
बजेटमार्फत बोर्ड फस्टको आशा गरिएकोमा ‘पास’ मात्रै भएकोले नैराश्यता पैदा भएको उनको भनाइ थियो। थापाले बजेटमा स्पष्टताको अभाव भएको जिकीर गरे।
‘बजेट पास वा फेल अर्को वर्ष जनताले भन्नेछन्। रिपोर्ट कार्ड हामीले पेश गर्नेछौं।’ उनले भने।
बजेटमाथि टिप्पणी गर्दै उनले भने, ‘बजेटले संघीय वित्त व्यवस्थापनलाई आत्मसाथ नै गर्न सकेको छैन। संघको काम विगतका समयमा जस्तै प्रदेश र स्थानीय तहलाई अनुदान दिने होइन। त्यस मामिलामा संघको बजेट बनाउनेहरु पूर्णरुपमा चुकेका छन्।’
समृद्धिका लागि सम्पुर्ण रुपमा स्पष्टताको अभाव देखिएको थापाको ठम्याइ छ। नेता थापाले वर्तमान परिस्थिति नियमित अवस्था नभएको जनाउँदै २०१५ र २०४८ मा आएको बजेट जस्तै मार्ग निर्देशनको अपेक्षा माथि न्याय गर्न नसकेको आरोप लगाए। उनले भने, ‘बजेटले अर्थतन्त्रको मार्गनिर्देशनको किटानी गर्न सकेको छैन। पूर्वाधारमा छरिएको बजेटले हामीलाई कुनै पनि परिणाम दिँदैन।’
विदेशी राष्ट्रहरुले लगानी गर्न आउने वातावरण बजेटमार्फत स्पष्ट हुन नसकेको उनले औंल्याए। बजेटमा एक वर्षभित्र लगानीको वातावरण बनाउन सकिने गरि कुनै पनि ठोस कार्यक्रम नआएको उनको भनाइ छ।
सांसदलाई दिएको ४ करोड रुपैयाँप्रति आलेचना गर्दै थापाले अर्थमन्त्रीले साहस देखाउन नसकेको बताए। ‘सांसदहरुलाई चार करोड विनियोजन गर्ने विषयमा अर्थमन्त्रीले खुट्टा कमजोर बनाउनुभयो।’, उनले भने, ‘संसदीय मर्यादामा सांसदलाई बजेट दिनु आवश्यक छैन। विनियोजन हुँदैन भन्नु सक्नुपथ्र्यो।’
नेता थापाले मन्त्रीहरुसँग अर्थमन्त्री डराएर मन्त्रालयले दिएका कुनै पनि कार्यक्रमलाई काट्न नसकेको आरोप लगाए। अनावश्यक स्थानमा बजेट विनियोजन गरिएको भन्दै थापाले हटाउन सकिने कार्यक्रमलाई महत्व दिएकोप्रति अर्थमन्त्रीको आलोचना गरे।
सरकारले विभिन्न शिर्षकमा कर वृद्धि गरेकोप्रति असन्तुष्ट देखिएका थापाले धेरै धन भएकालाई कर बढाउछुँ भन्नको लागि धेरै पढेको अर्थमन्त्री नचाहिने तर्क गरे। ‘करको दायरा बढाउने कि कर बढाउने? सिर्जनात्मक अभ्यासमा उहाँ चुक्नुभएको छ। विद्युतीय कारोबार बढाएर धेरे राजश्व संकलन गर्न सकिने थियो।’, उनले भने।
वृद्धभत्ताको ‘आर्किटेक्ट’ भएको बताएका अर्थमन्त्री खतिवडालाई नेता थापाले पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको टिप्पणी स्मरण गराएका थिए। अधिकारीले ‘२०५१ को बजेट बनाउँदा हालका अर्थमन्त्रीको कुनै भूमिका नभएको’ बताएका थापाले खतिवडालाई सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।