काठमाडाैं- प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको नागरिक उड्डयन, युरोपेली मुलुकहरु र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटको भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ।
मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड फ्लाइटमा आवश्यकताभन्दा बढी भाडा लिई नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो।
समिति सदस्य दिव्यमणि राजभण्डारीले नाजायज फाइदा उठाउनेलाई कारबाही गरिनुपर्ने भन्ने कुरा राखेको बताइन्। उनले नेपालको एयरलाइन्सलाई युरोपमा अझै कालोसूचीमा राखिएको भन्दै कालोसूचीबाट हटाउनको निम्ति के कसरी काम गर्दा सहयोग पुग्छ भन्ने विषयमासमेत छलफल गरिएको बताइन्। उनले भनिन्, ‘नाजायज फाइदा उठाएकालाई कारबाही होस् भन्ने हाम्रो भनाइ छ। यदि उहाँहरुले गल्ती गर्नुभएको छैन र कम्युनिकेसन ग्यापले गर्दा अप्ठ्यारो भएको हो भने उहाँहरुलाई इन्फरमेसन राम्रो जाओस् भन्ने धारणा राख्यौँ। नेपालको एयरलाइन्सलाई युरोपले कालो सूचीमा राखेको छ। कालो सूचीबाट निकालेर पर्यटन, उद्योग र समग्र देशको विकासको निम्ति सहयोग पुर्याउन सकोस् भन्ने उद्देश्यले अगाडि बढाउनको निम्ति आजको बैठक प्रयास गर्यौँ।’
उनले नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको सम्बन्धमा छलफल गरिएको पनि बताइन्। साथै, आन्दोलनरत कर्मचारीले किन आन्दोलन गरिरहनुपरेको छ भन्ने विषयमा पनि सदस्यहरुले जानकारी लिएको उनले बताइन्। निगमको समस्या समाधानको निम्ति समितिले सरकारलाई आवश्यक निर्देशन दिन तयार रहेकाले सुझाव दिन अनुरोध गरेको पनि उनले बताइन्। उनले भनिन्, ‘हामीले चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको बारेमा छलफल गर्यौँ। सरकारले लिनुपर्ने स्टेपमा समितिबाट दिनुपर्ने निर्देशनको बारेमा ज्ञान लिन खोज्यौँ। उहाँहरुलाई हामीले अनुरोध गरेका छौँ, जे जति सकिन्छ इन्फरमेसन दिनुस्, ट्रान्सपरेन्ट गर्नुस्। त्यसले गर्दा यो संस्थालाई बचाएर जान सकुँ।’
छलफलका क्रममा नेपाल नागरिक उड्ययन प्राधिकरण महानिर्देशक राजन पोखरेलले चार्टर्ड फ्लाइटमा स्वाभाविक रुपमा भाडा बढी हुने भए पनि अनियमितता भने नभएको बताए। एयरलाइन्सको पक्षबाट कुनै पनि अनियमितता नभएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।