काठमाडौं– सभामुख कृष्णबहादुर महराले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको सुरुमै प्रतिपक्षी दलका सांसदले इन्धनको मूल्यवृद्धि फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न ध्यानाकर्षण गराएपछि सभामुख महराले त्यसबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठक सुरु हुनासाथ समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले इन्धनको मूल्य ३ महिनाभित्र पाँच पटक वृद्धि भएको भन्दै मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरे।
खेती लगाउने समयमा इन्धनमा मूल्य बढाएर सरकारले किसानलाई मार्न खोजेको उल्लेख गर्दै उनले मूल्यवृद्धिको प्रभाव खाद्यवस्तु, यातायात लगायत सबै क्षेत्रमा देखिएको भन्दै फिर्ता लिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए।
नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १३ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।